१६ भदौ, विराटनगर । कोशी प्रदेशसभा बैठकमा नेकपा माओवादी केन्द्रका सांसदले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई अविश्वसनीय भनेपछि विवाद भएको छ ।

प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै माओवादी सांसद दुर्गा चापागाईंले कार्की ननभिजनरी र अविश्वसनीय मुख्यमन्त्री भएको आरोप लगाएका हुन् ।

‘यो डेढ वर्षमा हाम्रो प्रदेशले ह्याट्रिक वाला तर नन भिजिनरी र अविश्वसनीय छविका मुख्यमन्त्री ब्यहोरिरहेको छ’, चापागाईंले भने,‘…. ह्याट्रिकवाला मुख्यमन्त्री, दुई तिहाई बहुमतको सरकार आशा विश्वास र भरोसा छैन तर शङ्काको सुविधा दिऔं अब प्रदेशले स्थायित्व पाँउछ ।’ उनले मुख्यमन्त्रीलाई आफ्नो समय विकासमा प्रयोग गर्नेकी आग्रह पूर्वाग्रहमा खर्च गर्ने भन्दै प्रश्न गरे ।

उनले प्रदेशको नाम परिवर्तन गर्न पनि दुई तिहाई बहुमत सरकारलाई आग्रह गरे । कांग्रेसका १४ जिल्लाका सभापतिहरुले प्रदेशको नाम जनभावना अनुसार संशोधन गर्नुपर्ने माग गरेको स्मरण गर्दै उनले प्रदेशको नाम बहुपहिचानका आधारमा पुन राख्न माग गरे ।

‘प्रदेश नामकरणले उत्पन्न गरेको समस्या हल गर्ने उपयुक्त समय यहीँ हो, किनकी दुई तिहाइ बहुमतको सरकार तपाईँहरूसँग छ, प्रमुख प्रतिपक्षी दलसहित दल निसर्त साथ दिन तयार छन्’, उनले भने, ‘ त्यसैले बहुपहिचानका आधारमा प्रदेशको पुन नामकरणको निम्ती अघि बढ्न ध्यानाकर्षण गर्छु ।’

माओवादी सांसदले मुख्यमन्त्रीलाई अविश्वसनीय भनेपछि एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले त्यो शब्द रेकर्डबाट हटाउन माग गरे ।

‘अविश्वसनीय छवि भएका मुख्यमन्त्री भनेर कसले प्रमाणित गरेको ? कसैमाथि विश्वसनीय र अविश्वसनीय प्रमाणित हुनु परेन ?’, उनले भने, ‘ व्यक्तिगत लाञ्छना रेकर्डबाट हटाइयोस् ।’ लगत्तै आसनबाट उठेर बोलेका दुर्गा चापागाईँले साङ्केतिक हिसाबले कुरा राखेको बताए । @अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0