२३ भदौ, काठमाडौं । सिंगापुरस्थित अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को नेसनल कन्ट्रोल ब्यूरो (एनसीबी) ले नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित ३ जनाको विवरण माग्दै पत्राचार गरेको छ ।

एनसीबी काठमाडौंलाई केहीअघि आएको पत्रमा कालिकोटका ४१ वर्षीय महेन्द्रजंग शाह, कैलालीका हेमबहादुर शाही र कालिकोटका ४४ वर्षीय दिपेन्द्रबहादुर शाहबारे विवरण मागिएको हो ।

प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार, एनसीबी सिंगापुरले आतंकवादसँग सम्बन्धित व्यक्ति र समूह अथवा त्यससँग सम्बन्धित लगानीसँग सम्बन्ध भए नभएकोबारे विवरण पत्रमा माग गरिएको थियो । त्यसअनुसार, पृष्ठभूमिसहितको विवरण सिंगापुरलाई पठाइ सकिएको समेत स्रोतले जनाएको छ ।

उनीहरुमध्ये शाही नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) हुन् । हाल उनी सुदूपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत् छन् ।

विवरण माग गरिएकामध्ये महेन्द्रजंगमाथि उग्र इस्लामिक समूह इस्लामिक स्टेट इन इराक एण्ड सिरिया (आईएसआईएस) सँग जोडिएको आरोप यसअघि पनि लागेको थियो । सन् २०१६ मा यही आरोपमा मलेसिया सरकारले उनलाई डिपोर्ट गरेको थियो ।

पछि मलेसियन सरकारको अनुरोधमा उनी काठमाडौं आउने वित्तिकै पक्राउ समेत परेका थिए । तर, ११ दिनपछि कुनै आधार नभेटिएको भन्दै ६ हजार रुपैयाँ धरौटी बुझाएर छुटेका थिए ।

सन् २०१६ सेप्टेम्बर २० मा मलेसिया प्रहरीका इन्स्पेक्टर जनरल खालिद अबु बकारले पत्रकार सम्मेलनमै महेन्द्रजंग आईएसआईएससँग जोडिएको विषयमा छानबिन भइरहेको बताएका थिए ।

त्यसबेला शाहले अन्तर्राष्ट्रिय आतंकवादी संगठनका सदस्यहरुका लागि नक्कली पासपोर्टको व्यवस्था गरिदिएको समेत खुलेको सिंगापुरको दैनिक पत्रिका द स्ट्रेट्स टाइम्सले समाचार लेखेको थियो ।

प्रहरी प्रधान कार्यालयका एक अधिकृतले उनै महेन्द्रजंगसँग सम्बन्ध हुनसक्ने आशंकामा थप दुई जनाको विवरण पनि माग भएको देखिएको बताए ।

विवरण माग भएकामध्ये दिपेन्द्रबहादुरले अनलाइनखबरसँग कुरा गर्दै डीएसपी शाह र आफू मलेसिया, सिंगापुर र थाइल्याण्डकोको भ्रमणमा गएका बेला चिनजानको हिसाबले महेन्द्रजंगसँग भेट्ने प्रयास गरेको बताए ।

‘उनको पृष्ठभूमिबारे हामीलाई थाहा थिएन, एनआरएनएमा पनि उनी आबद्ध थिए । त्यसैले एकैठाउँको भएको हिसाबले फोन गरेर भेटौं भनेका थियौं’, उनले अनलाइनखबरसँग भने, ‘त्यसपछि मेहन्द्रजंगकै गाडीमा चढेकाले हाम्रोबारे विवरण मागिएको हो ।’

त्यसबेला पनि सिंगापुरमा अध्यागमनका अधिकारीहरुले त्यसबारे आफूहरुसँग सोधपुछ गरेको उनले बताए । ‘त्यसबेला पृष्ठभूमिबारे सोध्छौं भनेको थियो, जम्माजम्मी आफ्नै ठाउँका व्यक्तिलाई भेटौं न भन्दा यो पत्र आएको हो’, उनले थपे, ‘पहिले पनि मलेसियामा रहेका राजदूतसँग विवाद हुँदा उनीबारे पत्राचार भएको भन्ने सुनेको थिएँ ।’

महेन्द्रजंग व्यवसाय गरेर बसिरहेकाले उनको कार्यालयमा पनि पुगेको शाहले बताए । ‘तर, उनी त्यहाँ के गर्थे भन्ने थाहा हुने कुरा भएन’, उनले थपे ।

क्वालालम्पुरमा सन् २०१६ जुनमा आईएसआईएसले ग्रिनेड आक्रमण गर्दा ८ जना मानिसहरु घाइते भएका थिए । त्यसपछि आईएसआईएससँग जोडिएका मान्छेहरुबारे मलेसियन प्रहरीले अनुसन्धान तीब्र पारेको थियो ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0