अखिल क्रान्तिकारीमा पदाधिकारी बाहेक पनि अध्यक्षको उम्मेदवार बन्न पाउने विकल्पबारे छलफल

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीमा यसअघि पदाधिकारी नभएकाले पनि अध्यक्ष पदमा उम्मेदवारी दिन पाउने विकल्पबारे छलफल भएको छ ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको विद्यार्थी सङ्गठनका इन्चार्जसहित पार्टीको पदाधिकारी बैठकमा विकल्पबारे छलफल भएको एक विद्यार्थी नेताले जानकारी दिए ।

क्रान्तिकारीको प्रस्तावित विधानमा कम्तीमा एक वर्ष पदाधिकारीमा काम गरेकामात्रै अध्यक्षको उम्मेदवार बन्न पाउने व्यवस्था रहेको छ ।

मस्यौदा विधानको दफा(ङ)को उपदफा १ मा सङ्गठनको केन्द्रीय समितिको अध्यक्षको उम्मेदवार बन्न कम्तीमा एक कार्यकाल केन्द्रीय समितिको पदाधिकारी हुनुपर्ने उल्लेख छ । यस्तै उपदफा २ केन्द्रीय समितिको अन्य पदाधिकारीको उम्मेदवार बन्न केन्द्रीय समितिमा कम्तीमा एक कार्यकाल केन्द्रीय सचिवालय सदस्य हुनुपर्ने व्यवस्था रहेको छ ।

उपदफा ३ मा केन्द्रीय सदस्यको उम्मेदवारको हकमा राष्ट्रिय सम्मेलनको प्रतिनिधि हुनुपर्ने उल्लेख छ । विवाद समाधानका लागि यो विकल्पमा सहमति हुने सम्भावना रहेको अर्का एक पदाधिकारीले जानकारी दिए ।

पार्टीका शीर्ष नेताहरूसँगको छलफलपछि विभिन्न विकल्पबारे छलफल भएको थियो । यसै विषयमा सहमति गर्नका लागि बुधवारको निर्वाचन कार्यक्रम स्थगित गरिएको छ ।

‘प्रस्तावित मस्यौदा विधानमा पदाधिकारी रहेकाले मात्र अध्यक्षको उम्मेदवार बन्न पाउने व्यवस्था छ । विकल्पमा राष्ट्रिय सम्मेलनका सबै प्रतिनिधि अध्यक्षको उम्मेदवार बन्न पाउनेबारे विधान संशोधन हुन सक्छ । यसबारे छलफल गर्न अहिले हामीले कार्यालय बैठक बोलाएका छौँ । सायद सहमति होला’, सङ्गठनका एक पदाधिकारीले रातोपाटीलाई जानकारी दिए ।

असोज १० गतेदेखि त्रिभुवन विश्वविद्यालयमा जारी क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन उमेर हद राख्ने कि नराख्नेबारे मतभेद भएपछि निर्वाचन प्रक्रिया स्थगित हुँदै आएको छ । उमेर हद विवादका कारण प्रस्तावित मस्यौदा विधानसमेत बन्दसत्रबाट पारित हुन सकेको छैन । विधान पारित नहुँदा नयाँ कार्यसमिति चयन हुन सकेको छैन ।

यस्तै सहमति हुँदा अध्यक्ष कसलाई बनाउने भन्नेमा पनि विवाद छ ।

@रातोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *