बुटवल । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुसमा बुटवलमा औद्योगिक व्यापार मेला हुने भएको छ । पुस ३ देखि १८ गतेसम्म बुटवल मण्डपमा औद्योगिक व्यापार मेला–२०८१ हुने भएको हो ।

सोमबार बसेको बुटवल उद्योग वाणिज्य संघको बैठकले कार्यसम्पादन समिति गठन गर्नुको साथै जिम्मेवारी बाँडफाँट गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।

औद्योगिक व्यापार मेला–२०८१ को मूल कार्यसम्पादन समितिको संयोजकमा संघका अध्यक्ष हरिप्रसाद अर्याल रहेका छन् । मूल कार्यसम्पादन समितिमा संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरू रहने छन् ।

त्यस्तै गरी संघका निवर्तमान अध्यक्ष उज्ज्वल प्रसाद कसजूलाई मूल्याङ्कन तथा अनुगमन समितिको जिम्मेवारी प्रदान गरिएको छ । वरिष्ठ उपाध्यक्ष टंक प्रसाद गैरेलाई मेला मूल सम्पादन समितिको सहसंयोजकसहित सरकारी निकाय समन्वय, विषयगत उपसमिति समन्वय, सांस्कृतिक कार्यक्रम, साउन्ड सिस्टम तथा स्टेज सञ्चालन, स्वागत तथा प्राथमिक उपचार र विद्युत् व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ ।

संघका उद्योग उपाध्यक्ष सुरज भट्टराई र वाणिज्य उपाध्यक्ष विमलराज भट्टराईलाई मेला मूल कार्यसम्पादन समितिको उपसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

यस्तै कोषाध्यक्ष वसन्त प्रसाद ढकाललाई कार्यसम्पादन समितिमा आर्थिक समितिको संयोजकसहित सौजन्य, खाना तथा खाजा र टिकट व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ ।

संघका सचिव प्रतीक पोखरेललाई प्रचारप्रसार, मञ्च, स्वागत तथा सजावट र श्रव्य दृश्य तथा समारोह व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ । सहकोषाध्यक्ष धनकुमारी खनाललाई आर्थिक समितिको सहसंयोजकसहित उपहार तथा प्रमाणपत्र, आन्तरिक सञ्चार र महिला उद्यमी प्रवर्द्धनको जिम्मेवारी प्रदान गरिएको छ ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0