५ कात्तिक,काठमाडौं । ललितपुर महानगरपालिकाले असोज दोस्रो साता आएको बाढीले बगाएर ल्याएको प्लास्टिक, कपडा र कागजजन्य फोहोर संकलन गर्ने र उठाउने काम शनिबारदेखि थाल्ने भएको छ ।

बाढीले बगाएर ल्याएको फोहोर नख्खु र बागमती नदी किनारमा थुप्रिएका छन् । फोहोर संकलन गर्न २ हजार भन्दा बढी स्वयंसेवक खटिने महानगरपालिकाले जनाएको छ ।

नदी किनारमा थुप्रिएका फोहरमैला सरसफाइ सम्बन्धी तयारी बैठकमा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन बाढीले बगाएर ल्याएको फोहोर शनिबारदेखि उठाउने बताउँछन् ।

‘बिहान ७ बजे तोकिएको ठाउँमा जम्मा होऔं, हेर्दा नै लाज लाग्ने गरी छरपष्ट प्लाष्टिक, कागज र कपडा संकलन गरौं, सफा नभएसम्म गर्छौं,’ बैठकमा मेयर महर्जनले भने ।

११ र १२ असोजमा आएको बाढीले अन्यत्रबाट बगाएर ल्याएको प्लास्टिक लगायत फोहोरले ललितपुर सहरको सौन्दर्य नै बिगारेको उनलको भनाइ छ । नख्खु र बागमती नदी किनारलाई प्लास्टिकले छपक्कै छोप्दा लुगा सुकाए जस्तो देखिएको उनले बताए ।

स्वस्फुर्त सहभागी हुन आह्वान

फोहोर संकलनका लागि ज्यापु समाज ललितपुर, यल नेवा समाज, जिल्ला बहुउद्देश्यीय संघ ललितपुर, सहकारी संघ ललितपुर लगायत अन्य जातीय संघसंस्थाले आफ्ना प्रतिनिधि ल्याउने जनाएका छन् ।

महानगरको सरसफाइ कार्यक्रममा नगर प्रहरी, कर्मचारी पनि सहभागी हुनेछन् । महानगरले सफाइ अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेको छ ।

उपप्रमुख मञ्जली शाक्य बज्राचार्य बाढीले महानगरकोे सौन्दर्य ह्रास ल्याएको बताउँछिन् । वातावरण संरक्षण दायित्व सबैको भएको उनको भनाइ छ ।

बाढीबाट कम प्रभावित वडाले बढी प्रभावितसँग हातेमालो गर्नुपर्ने आवश्यकता औंल्याउँदै सफाइ अभियान निरन्तर चल्ने उनको भनाइ छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सीबहादुर श्रेष्ठले सरसफाइ अभियानमा जुट्न सबैलाई अनुरोध गरे । स्थलगत अनुगमनमा जाँदा सोचेभन्दा धेरै क्षति भएको अवस्था देखिएको बताए ।

महानगर प्रवक्ता तथा वडा नम्बर ९ का अध्यक्ष राजु महर्जनका अनुसार नदी किनारमा रहेका वडाहरू बाढीबाट धेरै प्रभावित भएका छन् । वडा नम्बर ५, ६, १२, १६, १५, १९ र २० बाहेक अन्य वडा बाढीबाट प्रभावित छन् ।

प्रवक्ता महर्जनले फोहोर संकलनका लागि क्लस्टर बनाएर स्वयंसेवक परिचालन गरिने बताए ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0