फेरि रोकियो धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता

१८ असोज, काठमाडौं । धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि सर्टलिस्टमा परेका बाँकी ३ उम्मेदवारलाई अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गर्न शुक्रबार सिंहदरबार बोलाइएको थियो । तर शुक्रबार पनि यी तीन जनाको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत हुन सकेन ।

अध्यक्ष सिफारिसका लागि गठित समितिका संयोजक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी तथा तीन उम्मेदवार सहभागी नभएपछि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुती रोकिएको हो ।

तीन उम्मेदवार बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जिवि चापागाईं तथा नेप्सेका सीईओ कृष्णबहादुर कार्कीलाई शुक्रबार अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीका लागि बोलाइएको थियो ।

सर्टलिस्टमा परेर पनि यसअघि यी तीन उम्मेदवार अन्तर्वार्ता तथा कार्य योजना प्रस्तुतीमा सहभागी नभएपछि गठित सिफारिस समितिले नाम सिफारिस गर्न सकेको थिएन ।

नाम सिफारिस हुन नसकेपछि सरकारले नयाँ प्रक्रिया सुरु गर्न समितिका तिनै सदस्य रहनेगरी अर्को सिफारिस समिति बनाएको थियो । सर्टलिस्टमा परेका एक उम्मेदवार सन्तोषनारायणले नयाँ प्रक्रिया सुरु गर्ने कानुनी व्यवस्था नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेपछि अदालतले नयाँ प्रक्रिया सुरु नगर्न आदेश दिँदै माघ ३० गतेका लागि पेशी तोक्यो ।

तर पुरानै प्रक्रियाबाट अध्यक्ष नियुक्तिका लागि बाटो खुला भएपछि यी तीन उम्मेदवारलाई आज अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीका लागि बोलाइएको हो ।

धितोपत्र बोर्ड २०८० पुस २० पछि कार्यकारी अध्यक्षविहीन छ । अर्थमन्त्रालयबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने महेश बरालले अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् । यद्यपि सार्वजनिक निष्कासन लगायत बोर्डका धेरै कामहरु प्रभावित भएका छन् ।

@अनलाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *