जीबी राईसहित २८ जनालाई प्रतिवादी बनाउँदै प्रहरी प्रतिवेदन पेश, १ अर्ब २ करोड मागदाबी

२ वैशाख, काठमाडौं । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा २८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रहरीले प्रतिवेदन बुझाएको छ ।

शुक्रबार इलाका प्रहरी कार्यालय बुटवलले जिल्ला सरकारी वकीलको कार्यालयमा प्रतिवेदन बुझाएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जितसिंह राठौरका अनुसार १ अर्ब २ करोड हिनामिना भएको पाइएपछि सोही अनुसारको बिगो मागदाबी गर्नुपर्ने रायसहित फाइल बुझाइएको हो ।

‘हामीले अनुसन्धान सकाएर १ अर्ब २ करोडभन्दा बढी बिगो मागदाबी र २८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रतिवेदन बुझाएका छौं । अब प्रतिवेदन अध्ययन गरेर सरकारी वकील कार्यालयले मुद्दा दर्ता गर्ला’ एसपी राठौरले अनलाइनखबरसँग भने ।

प्रतिवेदनमा जीबी (गितेन्द्रबाबु) राईसहित २८ जनालाई प्रतिवादी बनाउनुपर्ने प्रहरीले उल्लेख गरेको छ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा तथा सहकारीका कोषाध्यक्ष दिपेश पुन, सुप्रिम सहकारीका अध्यक्ष ओमप्रसाद गुरुङ, दुर्गा चापागाईं, दीपक न्यौपाने, नीता थापामगर, रोशनी गुरुङ, सागर केसीसहित २८ जनालाई प्रतिवादी बनाइएको छ ।

सहकारीले ठगी गरेको भन्दै १ हजार ८३१ जनाले प्रहरीमा जाहेरी दिएका छन् । प्रतिवादी बनाइएका मध्ये जीबीसहित पाँच जना फरार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *