८ कात्तिक, काठमाडौं । व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई जग्गादान गरेको विषयमा सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदै छ ।

उक्त रिट न्यायाधीश नहकुल सुवेदीको इजलाशमा परेको छ । उक्त रिटको पेशी १२ औं नम्बरमा छ ।

कीर्तिपुर नगरपालिकाको मैत्रीनगरमा १० रोपनी १४ आना जग्गामा दशैंको अष्टमीको दिन अर्थात् असोज २५ गते प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पत्तिले भवन शिलान्यास गरेका थिए ।

ज्ञानबहादुर बस्नेतसहितका रिट निवेदकले भाटभटेनी सुपर स्टोरका सञ्चालक गुरुङले दिएको जग्गाको स्रोत नखुलेकाले गैरकानुनी रूपमा पार्टीले लिन नमिल्ने तर्क गरेका छन् ।

‘एमाले पार्टीलाई दान गरेको जग्गाको मूल्य अहिलेको बजार भाउअनुसार एक अर्ब रूपैयाँभन्दा माथि रहेको बताइएको छ । यत्रो ठूलो धनराशि व्यवसायी गुरुङले कुन आस्वासन र के स्वार्थमा सत्ताको नेतृत्व गर्ने दल एमालेलाई दिनु भएको हो ?’ रिटमा प्रश्न गरिएको छ, ‘सबैले थाहा पाउनुपर्छ कि पर्दैन ? पारदर्शिता खोई ? दान गरिएको सम्पतिको स्रोत के हो ? सोको यकिन नहुँदासम्म उपहार दान वा सहयोग लिन नहुने कानुनी व्यवस्था राजनीतिक दलसम्बन्धी एन, २०७३ को दफा ३८ ले निषेध गरेको छ ।’

सुरुमा यो रिट सर्वोच्चका रजिष्ट्रार भद्रकाली पोखरेलले दरपीठ गरिदिएका थिए । तर दरपीठविरुद्ध परेको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मुद्दा दर्ता गर्न आदेश दिएको थियो ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0