११ पुस, काठमाडौं । चीनले तिब्बतको यारलुङ साङ्गपो नदीमा शक्तिशाली बाँध बाँधेर बिजुली निकाल्ने घोषणा गरेको छ । यहाँ बाँध बाँधेर थ्रीगर्जेजबाट भन्दा तीन गुणा बढी बिजुली उत्पादन गर्ने चीनको योजना छ ।
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार चीन सरकारले त्यसका लागि १३७ अर्ब डलर खर्च गर्ने योजना बनाएको छ । विशेषज्ञहरुका अनुसार यो बाँध पृथ्वीकै सबैभन्दा ठूलो हुने अनुमान छ ।
यारलुङ नदीको बाँध निर्माण कहिलेदेखि सुरु हुन्छ र ठ्याक्कै कहाँनेर बन्छ भन्ने अहिलेसम्म स्पष्ट भइसकेको छैन । तर यो बाँध चीन–भारतको सीमा क्षेत्र नजिकको भूकम्प गइरहने र बढी वर्षा हुने क्षेत्रमा बन्ने अनुमान छ ।
चिनियाँ अधिकारीहरुका अनुसार यहाँ बाँध बाँधेर ३०० अर्ब किलोवाट बिजुली उत्पादन गरिने छ । चीनको थ्रीगर्जेज बाँधबाट ८८.२ अर्ब किलोवाट बिजुली उत्पादन हुँदै आएको छ ।
भारत र बंगलादेशको चिन्ता
बाँध बनाउन लागिएको यारलुङ साङ्गपो नदी तिब्बतको पठार हुँदै भारत प्रवेश गर्दछ । यो नदी अरुणाचल प्रदेश र आसाम हुँदै बंगलादेश पुग्छ । भारतमा यो नदीलाई ब्रह्मपुत्र र बंगलादेशमा पद्मा नदीको रुपमा चिनिन्छ ।
त्यसैले चीनले यारलुङ नदीमा बनाउने बाँधबाट भारतको उत्तर पूर्व राज्य र बंगलादेश समेत प्रभावित हुने आशंका कतिपयको छ । यसले नदी तटीय क्षेत्र प्रभावित हुने अनुमान समेत गरिन्छ । तर चिनियाँ अधिकारीहरुले यसबाट कसैलाई कुनै प्रकारको हानि नहुने बताउने गरेका छन् ।
चीनले यारलुङ नदीमा बाँध बाँधेर बिजुली निकाल्ने समाचार पहिले पनि पटक–पटक सार्वजनिक हुने गरेको थियो । तर निर्माणको विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक भइसकेको छैन । यसबाट कति घरधुरी प्रभावित हुन्छन्, जमिनको कति क्षेत्रफल ओगट्छ र पर्यावरणमा कति क्षति पुग्छ भन्ने पनि स्पष्ट छैन ।