काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपालको हवाई सेवाको सुनिश्चितताको लागि नयाँ जहाज थप्नुको विकल्प नभएको बताएका छन् । कार्यभार सम्हालेको एक सय दिन पूरा भएको अवसरमा मन्त्रालयको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री पाण्डेले प्रत्येक प्रदेशमा एक/एक जहाज ट्वीनटर जहाज किन्नुपर्ने बताए ।

यसबारे प्रदेशका पर्यटन मन्त्रीहरुसँगको छलफलमा समेत प्रस्ताव राखेको भन्दै उनले प्रत्येक प्रदेशले कम्तीमा एउटा जहाज किन्ने र आफ्नै प्रदेशको नाम राखेर चलाउने प्रस्ताव गरेको बताए । ‘त्यसो गरियो भने कुनै पनि विमानस्थलमा जहाज उडाउन समस्या हुन्न’ उनले भने ।

त्यस्तै न्यारोबडी र बाइडबडी जहाज कम हुँदा अन्तर्राष्ट्रिय उडान गर्न समस्या भइरहेको भन्दै ती जहाज समेत थप्नुपर्ने उनले बताए । उनले भने, ‘अहिले कोरियाको भाडा २ लाख छ, कोरियाबाट दिल्लीको भाडा ८० हजार रहेछ, हामीसँग जहाज नहुँदा यात्रुले महँगो तिर्नु परिरहेको छ ।’

यद्यपि जहाजको अभाव मात्रै कोरिया उडानको बाधक भने नभएको उनको भनाइ छ। कोरियाले नेपालको हवाई सुरक्षासम्बन्धी सेफ्टी अडिट गर्न खोजेको तर नेपालले नमानेको उनले बताए । यो एउटा कारण भए पनि मुख्य कारण जहाज नहुनु नै रहेको मन्त्री पाण्डे बताउँछन् ।

‘एउटा सार्वभौम देशको सेफ्टी अडिट अर्को देशले गर्न मिल्ने कि नमिल्ने भन्ने सानो विवाद छ, त्योभन्दा ठुलो समस्या जहाज अभावको हो ‘ उनले भने ।

आफूलाई जहाज किन्नेतिर सोच्दै नसोच्न सुझाव आए पनि त्यसो गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ । ‘साथीहरू प्लेन किन्ने सोच्दै नसोच्नुस् भन्नुहुन्छ, तर त्यसको उपाय छैन’ उनले भने ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0