११ कात्तिक, काठमाडौं । सूर्यदर्शन सहकारीमा बचतकर्ताले राखेको रकम गोर्खा मिडिया नेटवर्कमार्फत अनियमितता गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेको मोबाइल परीक्षणका लागि प्रहरीले डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले केही दिनअघि उनको मोबाइल जाँचका लागि प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाएको हो ।

डीएफएल जाँचपछि उनको माबाइलबाट डिलिट गरिएका विवरणहरू समेत रिकभर हुनेछ । ‘यसबाट डिलिट भएका इमेलसहितका विवरण पनि रिकभर हुन्छन्, अनुसन्धानका क्रममा केही नयाँ प्रमाण हात पर्नसक्ने भएकाले अनुसन्धानको नियमित प्रक्रिया अन्तरगत नै डीएफएलमा पठाएका हौं’, कास्की प्रहरीका एक अधिकृतले अनलाइनखबरसँग भने ।

कास्की प्रहरीले लामिछानेलाई गएको शुक्रबार जिल्ला अदालत उपस्थित गराएर सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि सात दिन म्याद लिएको थियो । सात दिनमा अनुसन्धान र बयान लगायतका प्रक्रिया नसकिएपछि फेरि म्याद थपका लागि अदालत उपस्थित गराउनुपर्छ ।

तर, सात दिनपछि तिहार विदा सुरु हुने भएकाले अदालत खुलेको पहिलो दिन उनलाई उपस्थित गराउने प्रहरी तयारी छ । प्रहरीले लामिछानेलाई ३ कात्तिकमा काठमाडौंबाट पक्राउ गरेर कास्की लगेको थियो ।

सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा १६ असोज २०८० पूर्वअध्यक्ष जीबी राई, उनका दाजु भूपेन्द्र राई, अध्यक्ष थानबहादुर बुढा लगायत १९ जना विरुद्ध कास्की अदालतमा मुद्दा दर्ता भएको थियो ।

पीडितहरूले २२ माघ २०८० मा रास्वपा सभापति लामिछानेसहित १८ जना विरुद्ध कास्की प्रहरीमा फेरि पूरक जाहेरी दिए । त्यहीबीचमा गठन गरेको संसदीय छानबिन समितिले पनि उनलाई कारबाही सिफारिस गरेपछि लामिछाने पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0