१३ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले बंगलादेश विरुद्धको साफ वुमन्न च्याम्पियनसिपको फाइनल जसरी पनि जित्ने बताएकी छन् ।
अहिलेको टिमले प्रतियोगिता नजिते अर्को ५-१० वर्ष लाग्न सक्ने उनको भनाइ छ । ‘हाम्रो टिम बण्डिङ राम्रो छ । भोलि जित्नुपर्छ, अहिले जितेनौं भने अर्को टिम बन्न ५-१० वर्ष पर्खनुपर्छ’, मंगलबार आयोजित प्रिम्याच कन्फ्रेन्समा कप्तान एन्जिलाले भनिन्, ‘हामी गर्छौं हामी जित्छौं भन्ने हाम्रो नारा छ ।’
कप्तान एन्जिलाले बंगलादेशविरुद्ध बदला लिने भन्दा पनि यो नेपालका लागि अवसर भएको बताइन् । ‘यसलाई रिभेन्जको रुपमा लिँदैनौं । हाम्रो लागि अवसर हो’, एन्जिलाले भनिन् ।
साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनलमा बुधबार घरेलु टोली नेपाल र साविक विजेता बंगलादेशबीच खेल हुनेछ । खेल साँझ साढे ६ बजे सुरु हुनेछ ।
नेपालले अहिलेसम्म साफ वुमन्स च्याम्पियनसिपको ६ मध्ये ५ संस्करणको फाइनल पुग्दा पनि उपाधि जित्न सकेको छैन । पछिल्लो पटक २०२२ को फाईनलमा नेपाल बंगलादेशसँग ३-१ ले पराजित भएको थियो ।
त्यसअघि नेपाल चार पटक फाइनलमा भारतसँग पराजित भएको थियो । कप्तान एन्जिलाले त्यो विगत भएको र अब वर्तमान टिम एकजुट रहेकोले राम्रो खेल्ने बताइन् ।
नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले नेपाल फाइनलका लागि तयार रहेको र जित्नका लागि खेल्ने बताए । ‘हामी फाइनल जित्छौं भन्ने सोचका साथ खेल्छौं’, तामाङले भने ।