गुल्मीको चन्द्रकोट गाउँपालिकाले ‘स्त्री जाति’का पशुचौपाया ओसारपसारमा रोक लगायो

२१ वैशाख, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले स्त्री जातिका पशुचौपाया ओसारपसार रोक लगाएको छ । गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै स्त्री जातिका पशु चौपायाहरु बिक्री वितरण तथा ओसारपसार नगर्न/नगराउन अनुरोध गरेको हो ।

गाउँपालिकाले कृषि, पशुपालन तथा दूग्ध उत्पादनलाई व्यावसायिक र व्यवसायिक बनाउने गरी कार्यक्रम चलाइरहेको तर, स्त्री प्रजातिका पशुचौपाया अन्यत्रै निकासी भइरहेको भन्दै बिक्रीवितरणसहित ओसारपसारमा रोक लगाउनुपरेको दाबी गरेको छ ।

‘पछिल्लो समयमा पालिका क्षेत्र भित्रबाट विभिन्न कृषकहरुद्वारा पालिएका पशुचौपायाहरु मध्ये स्त्री जातिका पशु चौपाया (विशेष गरी भैंसी) हरुको अवैध रुपमा ओसार भइरहेको र मासुजन्य कार्यका लागि यातायातका विभिन्न साधनहरुबाट समेत अन्यत्र निकासी भरहेको’, सूचनामा भनिएको छ, ‘यसको नियन्त्रण र नियमनका लागि पालिकाको अर्को व्यवस्था लागु नहुन्जेल यस किसिमका पशु चौपायाहरु विक्री वितरण तथा ओसारपसार नगर्नु नगराउनुहुन अनुरोध छ ।’

गाउँपालिकाभित्रै पनि पशुचौपाया बिक्रिवितरण गर्नुपरेमा अनुमति लिन र नलिएमा कारबाही गरिनेसमेत पालिकाले चेतावनी दिएको छ ।

‘पालिकाभित्र यस किसिमका कार्यहरु गर्नु परेमा अर्थात भैसी जातका चौपायाहरु विक्रि वितरण गर्नुपर्ने भएमा वा पालिकाबाट अन्यत्र लैजानुपर्ने भएमा खरिदकर्ता र विकेता विचको चौपाया पाल्ने प्रयोजनका लागि खरिद विकि भएको व्यहोरा खुल्ने कागजात पेश गरी गर्न अनुरोध गर्दछौं’, सूचनामा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *