काठमाडौँ । नेपाली फिल्मले व्यवसाय गर्दैन भन्नेहरूको अहिले मुख थुनिएको छ । कारण हो– यो वर्षको दसैँको फूलपातीमा रिलिज भएका तीन चलचित्र ‘छक्का पन्जा–५’, ‘१२ गाउँ’, ‘ज्वाइँ साब’ र लक्ष्मीपूजामा रिलिज भएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ।

यी चारमध्ये फूलपातीमा रिलिज तीन फिल्म ‘छक्का पन्जा–५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ ले तेस्रो सातासम्म करिब ४८ करोड माथिको ग्रस कलेक्सन गरेको देखिन्छ । तीन फिल्ममध्ये ‘छक्का पन्जा–५’ र ‘१२ गाउँ’ को प्रदर्शन अहिले पनि जारी छ भने ‘ज्वाइँ साब’ उत्रिसकेको छ ।

‘१२ गाउँ’ विराज भट्टको निर्माण निर्देशनमा तयार भएको फिल्म हो । फिल्मले अहिलेसम्म २३ करोड माथिको व्यवसाय गरिसकेको निर्देशक विराज बताउँछन् । उनका अनुसार फिल्मले अझै आम्दानी गर्नेछ । फिल्ममा विराजको अलवा विराजको छोरा समीर भट्ट, न्यासी खड्का, सनिशा भट्टराई लगायतको अभिनय छ ।

त्यस्तै, ‘छक्का पन्जा ५’ ले अहिलेसम्म २० करोड बढी ग्रस कलेक्सन गरेको वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका मनोज राठीले बताए । ‘फिल्मको व्यवसाय अझै जारी छ । राम्रो कमाउँछ होला’ राठीले थपे ।

दीपाश्री निरौलाले निर्देशित ‘छक्का पन्जा–५’ मा दीपकराज गिरी, केदार घिमिरे, वर्षा सिवाकोटी, प्रकाश घिमिरे, निर्मल शर्मालगायत कलाकार मुख्य भूमिकामा छन् ।

एकसाथ रिलिज भएको तीन फिल्ममा सबैभन्दा कमजोर व्यवसाय गर्ने फिल्म ‘ज्वाइँ साब’ बनेको छ । फिल्मले सवा पाँच करोड ग्रस कलेक्सन गरेको निर्देशक वसन्त निरौला बताउँदै आएका छन् । ‘ज्वाइँ साब’ मा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, हिमेश पन्तलगायत मुख्य भूमिका छ ।

फिल्मको आम्दानी वितरक तथा निर्माता युनिटले दाबी गरे अनुसारको हो । फिल्मले ठ्याक्कै कति कमायो भनेर चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्टले जानकारी दिन्छ । तर बोर्डले यो रिपोर्ट सार्वजनिक गरेको छ । बोर्डले रिपोर्ट सार्वजनिक नगर्दा निर्माता र वितरकले दिने ग्रस कलेक्सनको रिपोर्टमा सधैँ प्रश्न उठ्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0