२२ कात्तिक, काठमाडौं । भारतले यो वर्षको हिउँदमा विद्युत् दिने गरी भएको नेपालसँगको सम्झौता अझै नवीकरण गरेको छैन । सुक्खायाममा देशभित्र उत्पादन हुने विद्युतले माग नधान्ने भएकाले विद्युत् प्राधिकरणले भारतबाट आयात गरेर आपूर्ति गर्दै आएको छ । तर, त्यसका लागि भारतले विद्युत् आयातलाई अनुमति दिनुपर्ने हुन्छ ।

गत मार्च २९ (चैत १६) मा भारतले चुनाव आइरहेको भन्दै तीन महिनाका लागि मात्रै विद्युत् निर्यातसम्बन्धी सम्झौता नवीकरण गरेको थियो । दिनको समय (सन आवर) मा मात्रै विद्युत् निर्यात गर्ने गरी गरिएको सम्झौताको नवीकरणको म्याद जुनको अन्त्यमा सकिएको थियो । त्यसपछि भारतले सम्झौता नवीकरण गरेको छैन ।

नेपाल विद्युत् प्राधिकरणले १ डिसेम्बर (१६ मंसिर) देखि भारतबाट विद्युत् आयात गर्नुपर्ने प्रक्षेपण गरेको प्रवक्ता चन्दनकुमार घोषले अनलाइनखबरलाई जानकारी दिए ।

‘तर, हालसम्म पनि विद्युत् आयातको सम्झौता नवीकरण भएको छैन, आशा छ यो चाँडै नवीकरण हुनेछ,’ प्रवक्ता घोषले बताए ।

गत मार्चमा सम्झौता नवीकरण हुँदा अधिकतम् ५ सय ५४ मेगावाट मात्रै विद्युत् नेपालले आयात गर्न पाउने व्यवस्था गरिएको थियो । त्यसअघि भने नेपालले २४ सै घण्टा आवश्यकताअनुसार विद्युत् आयात गर्न पाएको थियो । नेपालले अधिकतम् ७ सय मेगावाटसम्म विद्युत् भारतबाट आयात गर्ने गरेको थियो ।

मार्चमा सर्तसहित सम्झौता नवीकरण गरेको भारतले यो हिउँदका लागि पनि केही सर्तसहित सम्झौता थप्न चाहेको ऊर्जा मन्त्रालयका अधिकारी बताउँछन् ।

हालै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले आफ्नो भारत भ्रमणका क्रममा हिउँदमा विद्युत् आयात गर्ने सम्झौता नवीकरणको विषयमा चासो राखेको भ्रमण दलमा रहेका मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले जानकारी दिए ।

त्यसमा भारतबाट सकारात्मक जवाफ प्राप्त भएको पनि उनले बताए । ‘भारतले २० घण्टासम्म नेपाललाई विद्युत् दिन्छौं, लोड हरेर २४ सै घण्टा पनि दिनसक्छौं भन्ने कुरा गरेको छ,’ उनले भने, ‘यसअघि सन आवरमा मात्रै विद्युत् दिने गरी सम्झौता भएकोमा अहिले भारत धेरै लचक भएको पाएका छौं ।’

नेपालले अहिले विद्युत् निर्यात नै गरिरहेको भन्दै उनले आयात गर्नुपर्ने बेलासम्म सम्झौता नवीकरण भइसक्ने जानकारी भारतीय पक्षले दिएको पनि बताए ।

नेपालले भने २४ सै घण्टा आवश्यकताअनुसार विद्युत् आयात गर्न दिन प्रस्ताव गरेको थियो । ‘तर, साँझको ५ बजेदेखि ९ बजेसम्म भारतमा विद्युतको माग अत्यधिक हुने भएकाले त्यो समयमा बिजुली दिने प्रतिबद्धता गर्न सक्दैनौं, लोडले धानेसम्म दिन्छौं भन्ने आश्वासन प्राप्त भएको छ,’ उनले भने ।

दशैंअघिको बाढीले माथिल्लो तामाकोसी परियोजनामा ठूलो क्षति पुगेकाले त्यो परियोजना यसवर्षको हिउँदमा पिकिङ (दिनभर पानी जम्मा गरेर माग उच्च भएका बेला पूर्ण क्षमतामा उत्पादन) गर्न नसकिने अवस्थामा पुगेको प्राधिकरणका प्रवक्ता घोषको भनाइ छ । यस्तो अवस्थामा तामाकोसीबाट क्षमताको आधाभन्दा कम उत्पादन हुनेछ । त्यसो हुँदा यो हिउँदमा विद्युतको माग धान्न भारतबाट बढी नै विद्युत आयात गर्नुपर्ने अवस्था आउने उनले बताए ।

नेपालले भारतको खुलाबजार इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) बाट विद्युत आयात गर्ने गरेको छ । सो बजारमा एक दिन अघि (डे–अहेड) र सोही दिन (रियल टाइम) मा कायम रहेको दरमा नेपालले विद्युत् आयात गर्ने गरेको छ । यसरी भारतीय खुलाबजारबाट विद्युत् आयात गर्न नेपालले २०७८ मा अनुमति पाएको थियो । पाँच वर्षको यो अनुमति हरेक वर्ष नवीकरण गर्नुपर्ने सर्त छ  ।

नेपालले भारतीय एक्सचेन्ज बजारका अतिरिक्त बिहार र उत्तर प्रदेश सरकारसँग छुट्टै सम्झौता गरेर पनि विद्युत् आयात गर्छ । एक्सचेन्ज बजारमा आयात हुने विद्युतको दर हरेक दिन परिवर्तन हुन्छ । तर, छुट्टै सम्झौतामार्फत आयात हुने विद्युतको दर भने स्थिर हुन्छ ।

नेपालले १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत प्रतियुनिट ६ रुपैयाँ १८ पैसा भारुमा विद्युत् आयात गरिरहेको छ भने ३३ केभीको प्रसारण लाइनबाट ६.६५ भारुमा विद्युत् आयात गरिरहेको छ । तर, सानो प्रसारण लाइनबाट थोरै मात्रै विद्युत् आयात गर्न सकिने हुँदा सीमावर्ती सहरहरुमा मात्रै त्यसको आपूर्ति गर्न सकिने प्राधिकरण स्रोत बताउँछ ।

खुलाबजारमा भने अधिकतम १२ भारुसम्म रकम तिरेर विद्युत् आयात गर्नुपर्ने हुन्छ ।

भारतले महाकाली सन्धिअन्तर्गत टनकपुरबाट बिजुली ल्याउन पाउने सम्झौता छ । त्यहाँबाट १५ मेगावाट विद्युत् आयात गर्न सक्ने भए पनि दुई वर्षदेखि भारतले त्यस बाटोबाट आपूर्ति बन्द गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0