२६ कात्तिक, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ग्वार्कोमा निर्माणाधिन फ्लाई ओभरको स्थलगत निरीक्षण गरेका छन् ।
मन्त्रालयका उच्च अधिकारीसहित मन्त्री दाहाल सोमबार बिहान निर्माण स्थलमा पुगेका थिए । निरीक्षण पश्चात मन्त्री दाहालले फ्लाई ओभर निर्माणको कामलाई गति दिन निर्देशन दिए । त्यस क्रममा उनले पूर्वाधार तथा विकास आयोजना निर्माण कार्यमा हुने ढिलासुस्ती सह्य नहुने बताए ।
काठमाडौको सहरी तथा यातायात व्यवस्थापनमा महत्वपूर्ण हुने अपेक्षा राखिएको उक्त फ्लाई ओभर निर्माणको कार्यलाई गति दिएर समयमै सक्न उनले निर्देशन दिए । निरीक्षण टोलीमा मन्त्रीदाहाल सहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल लगायत अधिकारी सहभागी थिए ।
२०७८ सालको फागुन १२ गते देखि ठेक्का लागि निर्माण शुरु भएको उक्त फ्लाई ओभर थप भएको म्याद थप पछि २०८१ को पुष ८ गते सम्पन्न गर्नुपर्ने छ । ३० मिटर स्पानको ४ लेनको पुल सहितको फ्लाई ओभर निर्माणको काम आशिष–समानान्तर–रेलिगेर जेभी काठमाडौले गरिरहेको छ ।