गाडी चालकलाई कुन-कुन रोगको जोखिम हुन्छ ?

कामको प्रकृति र पेशाका कारण पनि मानिसलाई विभिन्न रोगल् सताउन सक्छ । दिनभर कुर्सीमा बसेर काम गर्ने व्यक्तिलाई एक खालको रोगको जोखिम हुन्छ भने शारीरिक श्रम गर्ने, भारी काम गर्ने, उद्योगमा काम गर्नेहरुमा पनि विभिन्न रोगको जोखिम हुन्छ ।

यस्तै दिनभर सवारी साधन चलाउने चालकलाई नसा च्यापिनेदेखि मूत्रनलीको समस्यासम्म हुनसक्छ । लामो समयसम्म एउटै पोस्चरमा बसेर स्टेरिङ चलाउँदा विभिन्न स्वास्थ्य समस्या चालकमा देखिन सक्छ ।

नसा च्यापिने समस्या : गाडी चालकमा देखिने पहिलो समस्या नसा च्यापिने हो । यसको मूल कारण भनेकै खराब पोस्चर अर्थात् लामो समय एउटै पोस्चर बस्नु हो । चालकले आफ्नो निश्चित गन्तव्य नपुग्दासम्म एउटै पोजिसनमा बसेर गाडी हाँक्ने गर्छन् । लामो दुरीको बस वा ट्रक चलाउने चालकले लामो समयसम्म एउटै पोजिसनमा भएर गाडी चलाएका हुन्छन् । जसकारण ढाड, गर्दनको नसा च्यापिने समस्या हुन्छ । कम्मर दुख्ने, ढाड दुख्ने, हात–खुट्टा दुख्ने, खुट्टा निदाउने, झमझमाउने, लाटो हुने जस्ता समस्या सवारी चालकमा देखिन्छन् । यस्तो अवस्था लामो समय रहे बिस्तारै खुट्टा तथा ढाड चलाउन नसकिने हुनसक्छ ।

जोर्नी र मांसपेशीमा समस्या : गाडी चालकलाई जोर्नी दुख्ने समस्या पनि देखिन सक्छ । अस्वस्थकर खानपान, दिसा-पिसाब रोक्नु, धेरैबेर नखाई बस्नु, राति धेरै ढिला सुत्नु, धेरै तनाव वा चिन्ता लिनु जस्ता कारणले सवारी चालकमा जोर्नी र मांसपेशी दुख्ने समस्या हुन्छ । जसले युरिक एसिड बढाउँछ र हातखुट्टा दुख्ने, झमझम गर्ने, तातो हुने, रातो हुने समस्या हुन्छ ।

मधुमेहको समस्या : रगतमा चिनीको मात्रा बढेपछि मधुमेह रोग लाग्छ । यो पनि सवारी चालकलाई लाग्ने बढी सम्भावना हुन्छ । तिर्खा लागेको बेला चालकले पानीको सट्टा कोल्ड ड्रिंक, जुस, सोडा जस्ता पेय पदार्थ धेरै प्रयोग गर्छन् । जसले मधुमेहको जोखिम बढाउँछ ।

मिर्गौलामा समस्या : गाडी चालकमा मिर्गौलाको समस्या हुनसक्छ । शरीरमा पानीको कमी र पिसाब च्यापेर बस्ने गर्दा रगतमा युरिया र क्रिएटिनाइनको मात्रा बढ्दा मिर्गौलामा असर पुग्छ । यस्तो अवस्थामा शरीरमा विकारयुक्त वस्तु बाहिर निस्कन पाउँदैन र मिर्गौलामा समस्या देखिन्छ ।

उच्च रक्तचाप : सवारी चालकलाई लाग्न सक्ने अर्को रोग उच्च रक्तचाप पनि हो । यात्राका क्रममा स्वादको लागि नुनिलो, मसालेदार खानेकुरा, मासु वा बोसोजन्य पदार्थ तथा चिल्लो, अमिलो र पिरो बढी भएको खानेकुरा खानुपर्ने अवस्था आउँदा उनीहरुलाई उच्च रक्तचापको जोखिम हुन्छ ।

धुम्रपान र मदिरा सेवन गर्ने चालकमा उच्च रक्तचापको हुने सम्भावना अझ बढी हुन्छ । उच्च रक्तचापले मुटु, मिर्गौला, मस्तिष्क र आँखामा जटिलता ल्याउन सक्छ ।

कब्जियतको समस्या : राजमार्गमा पाइने अस्वस्थकर खानेकुरा, अव्यवस्थित जीवनशैली, लामो समयसम्म दिसा-पिसाब रोक्नुपर्ने बाध्यताका कारण सवारी चालकमा कब्जियतको समस्याले पनि सताउन सक्छ । एउटै पोजिसनमा बसेर सवारी चलाउनुपर्ने हुँदा शारीरिक व्यायामको कमी, स्वस्थ र सुपाच्य खानाको कमी, पानीको कमीले कब्जियतको समस्या हुन्छ ।

मूत्रनलीको संक्रमण : लामो समयसम्म पिसाब रोकेर बस्दा ब्लाडरमा ब्याक्टेरिया जम्मा भएर चालकमा मूत्रनलीमा संक्रमण हुनसक्छ । सरसफाइको कमी र शरीरमा पानीको कमीले पनि यो समस्या हुनसक्छ ।

मानसिक समस्या : कामको चाप, एउटै पोस्चरमा बसिरहनु, थकान, अनिद्रा, अस्वस्थकर खानपान, परिवारसँग टाढिनुपर्ने जस्ता कारणले सवारी चालक तनावमा रहन्छन् । जसकारण दिक्दारी हुने, नकारात्मक सोच बढी आउने, जीवनप्रति निराशा महसुस गर्ने जस्ता मानसिक समस्या उनीहरुमा देखा पर्न सक्छन् ।

शरीरमा पानीको कमीको कारण मस्तिष्कको कार्य क्षमतामा ह्रास आँउदा ध्यानकेन्द्रित गर्न नसक्ने समस्या समेत हुन्छ, जसले डिप्रेसन, एन्जाइटी निम्त्याउन सक्छ ।

छालासम्बन्धी समस्या : शरीरमा पानीको कमी हुँदा सवारी चालकमा छाला सुक्खा हुने, चाउरी पर्ने, ओठ फुट्ने, छालामा चमक हराउने जस्ता समस्या पनि देखिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *