२९ कात्तिक, काठमाडौं । चिनियाँ विद्युतीय गाडी (ईभी) निर्माता नेटाले उत्पादन बन्द गरी कामदारको तलब कटौती गरेको समाचार सार्वजनिक भएको छ ।

कारन्युजचाइना डकटकमले प्रकाशन गरेको उक्त समाचार अनुसार नेटा ब्रान्ड होजोन अटोले उत्पादन गर्दै आएको छ । गाडी बिक्री घटेपछि होजोनको झेइजियाङस्थित कारखानाबाट उत्पादन बन्द गरी कर्मचारीको तलब कटौती गएिको हो ।

नेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) झाङ योङले सामाजिक सञ्जाल वेइबो नेटा ब्रान्ड सम्बन्धी ब्लग र टिकटकमा भिडियो पोस्ट गर्न बन्द गरेको समाचारमा उल्लेख छ ।

नेटा सन् २०१८ मा स्थापना भएको थियो । यो सुरुवातमा प्रमुख ईभी निर्माताभित्र पथ्र्यो । यसले सस्तो मूल्यका ईभी नेटा भी उत्पादन गर्दै आएको थियो । यही रणनीति अनुसार अगाडि बढेको नेटाले सन् २०२२ मा १ लाख ५० हजार युनिटत उत्पादन गरेर ली अटो, निओ र एक्सपेङ जस्ता ईभी निर्मातालाई उछिनेको थियो ।

त्यही बेला नेटाले महँगो वर्गमा जाने निर्णय गरेको थियो । त्यसपछि उसले नेटा आया (नेटा भी टु), नेटा एक्स, नेटा जीटी, नेटा एल, नेटा एस र नेटा एस हन्टिङ मोडेल सार्वजनिक गरेको थियो ।

नेटाको झेइजियाङस्थित मुख्य कारखाना/तस्वीर स्रोत :कारचाइनान्युज डटकम
नेटालाई चीनमा पीडा

नेटालाई पछिल्लो पटक चिनियाँ बजारमा समस्या परिरहेको छ । महँगो वर्गका ईभी बिक्रीमा नेटालाई समस्या परिरहेको यसको घट्दो बिक्री दरले देखाएको छ ।

सन् २०२४ जनवरीदेखि सेप्टेम्बरमा नेटाले ५३ हजार ८ सय ५३ युनिट ईभी आपूर्ति गरेको छ । यो उसको वार्षिक बिक्री लक्ष्यको ३० प्रतिशतभन्दा कम हो ।

समस्यामा रहेको नेटाले आफ्नो अक्टोबर महिनाको बिक्री संख्या भने सार्वजनिक गरेको छैन । यसअघि नेटाले अघिल्लो महिनाको बिक्री संख्या अर्को महिनाको पहिलो दिनमै सार्वजनिक गर्ने घोषणा गरेको थियो ।

अटो उद्योगका जानकारका अनुसार नेटाले अक्टोबरमा ४ हजार ५ सय युनिटमात्र ईभी आपूर्ति गरेको छ । जुन, गत वर्ष सोही अवधिको तुलनामा ४० प्रतिशत कम हो । नेटा एस हन्टिङ मोडेलमा एसेसरिज नहुँदा कम्पनीले आपूर्ति गर्न सकेको थिएन । अन्य मोडेलको बिक्री पनि न्यून रहेको छ ।

चीनको डुन्युजले नेटाको झेइजियाङको टोङजियाङस्थित कारखाना आधा महिनाका लागि बन्द गरिएको समाचार लेखेको छ । यो नेटाको मुख्य कारखाना हो, जसले वार्षिक २ लाख युनिट ईभी उत्पादन गर्छ । यसले मुख्यगरी नेटा एल क्रसओभर मोडेल उत्पादन गर्दै आएको छ ।

यो वर्ष नेटाले कामदारको तलब कटौती गरेको छ । अक्टोबरमा नेटाका केही कामदारले अघिल्लो महिनाको तलब समयमै दिन कम्पनी असफल भएको दाबी गरेका थिए ।

नेटाका उच्च तहका कामदारको तलब अधिकतम ३० प्रतिशतसम्म कटौती गरिएको जनाइएको छ ।

सामाजिक सञ्जालहरूमा व्यापक सक्रिय रहने नेटा सीईओ योङ १४ अक्टोबरदेखि कतै पनि देखिएका छैनन् ।

नेटाको मातृ कम्पनी होजोन अटोले २०२१ मा ४ अर्ब ८४ करोड युआन (६७ करोड ६० लाख अमेरिकी डलर) खुद नोक्सान बेहोरेको थियो ।

२०२२ मा ६ अर्ब ६७ करोड युआन (९३ करोड डलर) र २०२३ मा ६ अर्ब ८७ करोड युआन (९६ करोड डलर) बराबर खुद नोक्सान बेहेरेको होजोन अटोको नगद कोषमा २ अर्ब ८३ करोड युआन (३९ करोड ५० लाख डलर) मात्र छ ।

गत जुनमा होजोन अटोले हङकङ स्टक एक्सचेन्जमा सूचीकृत हुन आवेदन दिएको थियो । पछिल्लो पटक नेटा मध्य एसिया, दक्षिणपूर्वी एसिया, ल्याटिन अमेरिका र दक्षिण अफ्रिकामा प्रवेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0