९ पुस, काठमाडौं । भलिबलको पुरुष फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) को लोगो सार्वजनिक भएको छ । आयोजक केडिया ग्रुपले मंगलबार एक कार्यक्रम गर्दै फ्रेन्चाइज लिगको नाम लोगो र स्लोगान सार्वजनिक गरेको हो ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चाैधरीले लोगो अनावरण गरेका थिए । यस्तै मन्त्री चाैधरी र केडिया ग्रुपका अध्यक्ष विमल केडियाले संयुक्त रुपमा ‘उचाईको नयाँ उडान’ नामक स्लोगान सार्वजनिक गरे ।
केडिया ग्रुपका निर्देशक अश्विन केडियाले नेपाली भलिबललाई थप यचाईमा पुर्याउने लक्ष्यका साथ यचाईको उडान स्लोगान राखिएको बताए ।
एनभीएलका एडमिन तथा अपरेसन हेड विकास खेतानले पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता हुने र सिंगल राउण्ड रोविनका आधारमा खेल हुने जानकारी दिए ।
खेतानका अनुसार ९ दिनसम्म चल्ने लिगमा कुल १५ खेल हुने र लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल खेल हुनेछ । यस्तै हरेक टोलीमा १२ खेलाडी हुने त्यसमा ९ नेपाली र ३ विदेशी खेलाडी हुने खेतानले जानकारी दिए ।
पुरुष भलिबलको फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल संघ र केडिया ग्रुपबीच जत जेठमा ७ वर्षको लागि सम्झौता भइसकेको छ । सम्झौता अनुसार केडिया ग्रुपले हरेक वर्ष नेपाल भलिबल संघलाई ३५ लाख रुपैयाँ प्रदान गर्नेछ ।
नेपालको भलिबल इतिहासमा पुरुषको फ्रेन्चाइज लिग पहिलो पटक हुन लागेको हो । यसअघि नै इन्फिनिटी ड्रिम्सले असोजमा महिला भलिबलको फ्रेन्चाइज लिग एभरेष्ट वुमन्स भलिबल लिग आयोजना गरेको थियो