काठमाडौँ । अहिले नेपाल–भारतको सम्बन्ध नराम्रो मोडमा पुगेको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई लिएर नेपाल–भारत सम्बन्धको बारेमा चर्चा भइरहेको छ । नरेन्द्र मोदी भारतको प्रधानमन्त्री भएपछि छिमेकी देशहरू खासगरी नेपालसँगको सम्बन्ध राम्रो बनाउन अघि बढेका थिए ।
तर नेपाल–भारतबिचको सम्बन्ध झन् बिग्रिएको छ । नेपालका प्रधानमन्त्रीले पहिलो औपचारिक विदेश भ्रमण भारतलाई नै बनाउने परम्पराजस्तै थियो । तर यसपटक भारतले नेपालका प्रधानमन्त्रीलाई भ्रमणका लागि निम्तो दिनसमेत उचित ठानेन ।
भारत भ्रमणको निम्तो नआएपछि प्रधानमन्त्री केपी शर्मा ओली चीन जान लागेका छन् । एमाले पार्टीका एक वरिष्ठ नेताले भने, ‘हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीजीले पहिलो औपचारिक भ्रमण भारतबाटै गर्न चाहनुभएको थियो तर आफूले मात्र चाहेर हुँदैन । उता (भारत)बाट पनि निम्तो आउनुपर्थ्यो । निम्तो नआएपछि अहिले चीन जाने तयारीमा लाग्नु भएको छ ।’
सुरुदेखि नै प्रधानमन्त्री ओलीसँग भारतीय प्रधानमन्त्री मोदीको सम्बन्ध राम्रो छैन । सम्बन्ध सुधारका लागि कुनै प्रयास पनि भएको देखिँदैन । प्रधानमन्त्री ओलीले विवादित भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेपछि सम्बन्ध झन् बिग्रिएको हो । पछिल्लो समय नेपाली नोटमा सो नक्सा राख्ने निर्णय गरेपछि भारत झन् बिच्किएको छ ।
भारतको सम्बन्ध नेपालसँग मात्र होइन, अन्य छिमेकी देशसँग पनि त्यस्तै तनावपूर्ण छ । भारत दक्षिण एशिया क्षेत्रको सबैभन्दा ठुलो देश हो । यसको सीमा अफगानिस्तान, पाकिस्तान, नेपाल, चीन, भुटान, म्यान्मार र बंगलादेशसँग जोडिएको छ भने श्रीलंका र माल्दिभ्ससँग समुद्री सीमा जोडिएको छ । यी देशमध्ये कुनै पनि देशसँग भारतको राम्रो सम्बन्ध छैन ।
पाकिस्तान र चीनसँग पटकपटक सीमामा युद्ध नै भएको हो । सीमा विवादलाई लिएर पाकिस्तान र चीनसँग अहिले पनि बेलाबखत झडप हुने गरेको छ । पछिल्लो समय बंगलादेशमा शेख हसिनालाई अपदस्थ गरेपछि मोहम्मद युनुस अन्तरिम सरकारको प्रमुख बनेका छन् । शेख हसिना युग अन्त्य भएसँगै बंगलादेशसँग पनि भारतको राम्रो सम्बन्ध छैन । बंगलादेशबाट लखेटिएकी हसिनालाई भारतले शरण दिएको छ । हसिनालाई शरण दिएकोमा बंगलादेशमा भारतको आलोचना भइरहेको छ । बंगलादेश र भारतबिच पानी तथा सीमा क्षेत्रका लागि पहिलादेखि विवाद हुँदै आइरहेको थियो । पाकिस्तानबाट अलग हुनका लागि भारतले नै बंगलादेशलाई सहयोग गरेको थियो तर अहिले त्यही बंगलादेश भारतबाट टाढिएको छ ।
भारतसँग श्रीलंकाको पनि राम्रो सम्बन्ध छैन । वामपन्थी नेता अनुरा कुमारा दिसानायके त्यहाँको राष्ट्रपति बनेपछि भारतका लागि झन् अप्ठ्यारो भएको छ । अहिले श्रीलंकाको संसदमा पनि वामपन्थी पार्टीको बहुमत छ, जो चीनका लागि खुसीको कुरा हो भने भारतका लागि चिन्ताको विषय बनेको छ ।
श्रीलंकन राष्ट्रपति दिसानायकेले आफ्नो पहिलो विदेश भ्रमण कुन देशबाट सुरु गर्ने भन्नेबारे चर्चा भइरहेको छ । श्रीलंकामा जो राष्ट्रपति बन्छन्, उसले पनि पहिलो औपचारिक विदेश भ्रमण भारतबाटै सुरु गर्ने परम्पराजस्तै छ । तर यसपटक त्यहाँ पनि अन्योल छ ।
सन् २०१७ मा श्रीलंकाले आफ्नो हम्बनटोटा बन्दरगाह चीनलाई सुम्पेको थियो । यो कुरा भारतलाई मन परेको छैन । श्रीलंकामा चीनको प्रभाव रोक्न नसकेपछि भारतीय प्रधानमन्त्री मोदीको आलोचना भइरहेको छ । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकालाई पछिल्लो समय भारतले ठुलो रकम सहयोग गरेको छ । जानकारहरू भन्छन्, ‘चीनको प्रभाव कम गर्नका लागि नै भारत सरकार हमेसा श्रीलंकालाई सहयोग गर्न तयार रहन्छ ।’
चीनका कारण भुटानलाई लिएर पनि भारत चिन्तित देखिएको छ । तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरू र भुटानको तत्कालीन राजा जिग्मे दोर्जी वांगचुक बिचमा एउटा सन्धि भएको थियो । त्यसमा भारतले भुटानको घरेलु मामिलामा हस्तक्षेप गर्ने छैन तर भुटानले अन्तर्राष्ट्रिय मामिलामा भारतसँग सल्लाह लिनुपर्ने उल्लेख थियो । सन् २००७ मा त्यसलाई संशोधन गरी दुवै देशले आ–आफ्नो राष्ट्रिय हितको मुद्दामा एक अर्कालाई सहयोग गर्ने र राष्ट्रिय सुरक्षाका लागि गम्भीर खालको गतिविधि गर्न आफ्नो भूमि तेस्रो मुलुकलाई उपयोग गर्न नदिने भनेर राखियो ।
तर भुटानमा चीनको गतिविधि बढ्न थालेपछि भारत चिन्तित बनेको छ । भुटानी क्षेत्रमा चीनको गतिविधि बढ्न थालेपछि भारतका प्रधानमन्त्री मोदीले भुटानको भ्रमण गरेका थिए । मोदीले भुटानको भ्रमण त्यतिबेला गरेका थिए, जतिबेला भारतमा लोकसभा चुनावको तयारी तीव्र रूपमा चलिरहेको थियो । चीनलाई लिएर भुटानमा भारत कति गम्भीर छ भन्ने यो एउटा उदाहरण पनि हो ।
डोकलाम क्षेत्रका लागि भारत, चीन र भुटानबिच विवाद छ । त्यो क्षेत्र सुरक्षाका दृष्टिले निकै संवेदनशील मानिन्छ । यो भूमिलाई लिएर चीन र भुटानबिच पटकपटक छलफल भए पनि समाधान निस्कन सकेको छैन ।
सन् २०१७ मा चीनले डोकलाम क्षेत्रमा सडक बनाउन थालेपछि भारतले भुटानको समर्थनमा आफ्नो सैनिक त्यहाँ पठाएको थियो । जसका कारण त्यहाँ दुई देशका सैनिकबिच झडप पनि भयो ।
सन् १८१६ मा भारतबाट अलग भएको अफगानिस्तानसँग पनि भारतको राम्रो सम्बन्ध छैन । तालिवानको शासन सुरु भएपछि त्यहाँ भारतका लागि झन् चिन्ताको विषय बनेको छ । यद्यपि भारतीय जानकारहरू पछिल्लो समय भारत र तालिबानबिचको सम्बन्धमा सुधार आएको बताउँछन् । भारतले अफगान सरकारलाई विभिन्न खालको सहयोग गर्न थालेको छ ।
चीन निकट मोहम्मद मोइजुले माल्दिभ्सको राष्ट्रपति चुनाव जितेपछि भारतसँग सम्बन्ध झन् खराब भएको छ । माल्दिभ्समा चीनले आफ्नो पकड जमाइसकेको छ । भारत र माल्दिभ्सबिच हालसम्म सम्बन्धमा सुधार आएको छैन ।