काठमाडौँ । उद्योग सचिव कृष्णबहादुर राउतले अर्थतन्त्रको सुधारका लागि नेपालका विश्वविद्यालयमै स्टार्टअपका कार्यक्रम दिएर स्टार्टअपलाई अभियानका रूपमा लैजान सरकार लागि परेको बताएका छन् ।

उनले उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको नवप्रवर्तन संवाद कार्यक्रममा बोल्दै उनले अर्थतन्त्रका सूचकहरू निराशाजनक रहेको बताए । त्यसैले सुधारका लागि सरकारले स्टार्टअप, नवप्रवर्तनमा जोड दिइएको उनको भनाइ छ ।

‘युवाहरूलाई नवप्रवर्तनमा आकर्षण गर्नका लागि स्टार्टअप कर्जासमेत दिने गरेको छ । धेरै ढिलो भए पनि सरकारले गत वर्षदेखि स्टार्टअप सुरु गरिएको हो । गत वर्ष स्टार्टअप कर्जा वितरणका लागि २५ करोड बजेट छुट्टाइएको थियो,’ उनले भने, ‘चालु वर्ष १ अर्ब कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ।’

यस्तै सरकारले स्टार्टअप नीति स्वीकृत गरी कार्यान्वयनमा ल्याएको उनले बताए । यसैगरी सन् २०२६ मा नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने भएकाले वैदेशिक आर्थिक सहयोगहरू नआउने र देशको अर्थतन्त्रमा ह्रास आउने बताए । देशको अर्थतन्त्र सुधारका लागि नवप्रवर्तनलाई जोड दिनुपर्ने उनको भनाई छ । जसका लागि सरकारले युवाहरूलाई स्वरोजगार बनाउन स्टार्टअप‌मा आकर्षण बढाइरहेको बताए ।

अहिले देशको अर्थतन्त्रका सूचकहरू निराशाजनक रहेकाले यसलाई सुधार गर्नका लागि नवप्रवर्तनमा जोड दिनु पर्ने बताए । ‘स्टार्टअप र नवप्रवर्तनको विकासमा सहजीकरण गर्नका लागि औद्योगिक बौद्धिक सम्पत्ति विधेयक संशोधनका लागि संसदमा पठाएका छौँ’ उनले भने, ‘लघु घरेलु उद्यम नीति मन्त्री परिषद्मा स्वीकृत हुने क्रममा रहेको छ।’

सङ्घ प्रदेश र स्थानीय तहमा साना तथा लघु घरेलु उद्योग दर्ता गर्ने व्यवस्था गरिने उनको भनाइ छ । ‘साना व्यवसाय अर्थतन्त्रको मेरुदण्ड हो । यसले करिब ३२ लाख रोजगारी दिएको छ । देशको आर्थिक सुधारमा महत्त्वपूर्ण योगदान छ । यसलाई तिनै तहमा सहजै रूपमा दर्ता गर्न मिल्ने बनाउँछौँ’ उनले भने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0