५ मंसिर, काठमाडौं । युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउन खोजेको आरोपमा प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनु शाही सहित ६ जनालाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय ललितपुरमा पुगेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान टुंग्याएर मंगलबार फाइल सरकारी वकिल कार्यालयमा पठाएको हो । सीआईबीका एसपी तथा प्रवक्ता होबिन्द्र बोगटीले ६ जनालाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाइएको पुष्टि गरे ।
सीआईबीको अनुसन्धान प्रतिवेदन अध्ययनपछि सरकारी वकिल कार्यालयले ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गर्नेछ । सीआईबीले प्रहरी प्रभाव भैंसेपाटीका तत्कालीन इन्सपेक्टर बिनु शाहीसहित ६ जनालाई आपराधिक लाभ र संगठित अपराधको कसुरमा मुद्दा चलाउनुपर्ने राय दिएको छ ।
यसअघि यो घटनाको अनुसन्धान जिल्ला प्रहरी परिसर ललितपुरले गरेको थियो । अनुसन्धानका क्रममा उक्त घटनामा एसपी कमल थापाको समेत कनेक्नस देखिएको भन्दै थप अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिइएको थियो ।
तर, सीआईबीले भने अहिले एसपी थापालाई छाडेर अन्यलाई मात्रै मुद्दा चलाउनुपर्ने राय दिएको छ । यसबारे सीआईबीका प्रवक्ता बोगटी भन्छन्, ‘उहाँको हकमा अनुसन्धान जारी छ । पछि थप केही खुलेमा सोही अनुसार हुन्छ ।’
अहिले प्रतिवादी बनाउन सिफारिस गरिएका मध्ये इन्सपेक्टर शाही र दर्शन पोखरेल छन् । उनीहरूलाई फरार प्रतिवादी बनाउँदै सीआईबीले फाइल बुझाएको छ । पक्राउ पर्नेहरूमा भने भैंसेपाटीकै सहायक हवल्दार महेन्द्र हमाल, सुनसरीको इटहरीका सुष्मा विक, ताज स्लाम र भीमादेवी थापा छन् ।
सहायक हवलदार हमालमाथि युवतीको प्रयोग गरेर (हनी ट्र्याप) व्यवसायीबाट असुल गरिएको रकम दुई पटक आफैंले बैंकमा जम्मा गर्न लगाएको आरोप छ । हिरासतमै रहेकी सुष्मा विक हनी ट्रयापमा व्यवसायीलाई फसाउन प्रयोग भएकी युवती र ताज स्लाम हनी ट्र्यापको मुख्य योजनाकार रहेको प्रहरीको सीआईबीको निष्कर्ष छ ।
उनकै योजनामा बलात्कारमा फसाइदिने भन्दै एक व्यवसायीबाट ३० लाख रुपैयाँ असुलिएको आरोप छ । यसरी असुल गरिएको रकम भीमादेवीको खातामा जम्मा गरिएको प्रहरीको भनाइ छ ।
सीआईबीले प्रतिवादी बनाउन सिफारिस गरिएकी सुष्मा सुनसरीकै एक होटलमा वेटरको रूपमा काम गर्दै आएकी थिइन् । त्यसै क्रममा होटलमा आउने जाने एक व्यवसायीसँग उनको चिनजान भएको थियो । त्यसपछि उनीहरू नजिकिँदै गएका थिए ।
ती व्यवसायीसँगको सम्बन्धबारे थाहा पाएपछि उनीहरूले सुष्मालाई प्रयोग गरेर रकम असुल गरेको प्रहरीको निष्कर्ष छ ।
त्यसका लागि उनीहरूले आफू अनकूल ठाउँको खोजी गरेका थिए । त्यसपछि उनीहरू प्रहरी प्रभाग भैंसेपाटी पुगेको प्रहरीको निष्कर्ष छ । भैंसेपाटीको कनेक्सन भने एसपी थापाले गराइदिएको आरोप लागेको थियो । यस विषयमा भने अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
आरोपित एसपी थापासँग पनि सीआईबीले बयान लिएको थियो । तर एसपी थापाले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै सीआईबीमा बयान दिएका थिए । हनी ट्रयापका योजानकार ताजसँग चिनजान रहेको र फोन सम्पर्क हुने कुरा स्वीकारे पनि थापाले अन्य आरोप भने अस्वीकार गरेका छन् ।
हनी ट्र्यापमा फसाउने योजना अनुसार सुनसरीबाट ताज र दर्शन जहाजमा र सुष्मा र भीमा गाडी चढेर काठमाडौं आएर ७ असोजमा शान्ति सुरक्षामा असर पारेको भन्दै एक व्यवसायीविरुद्ध प्रहरी प्रभाग भैंसेपाटीमा निवेदन दिएका थिए । त्यसपछि सुरु भएको थियो रकम उठाउने खेल ।
शान्ति सुरक्षाको निवेदन जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरीकोमा आउनुपर्नेमा सुरुमै प्रहरीमा दर्ता गराइएकाले सुरुबाटै घटना शंकास्पद बनेको अनुसन्धान अधिकारीहरू बताउँछन् । शान्ति सुरक्षाको निवेदन भनिए पनि आरोपित भनिएका व्यापारीसँग शान्ति सुरक्षाका विषयमा नभई बलात्कारको विषयमा छलफल गराएर रकम असुलिएको खुलेको थियो ।
घटनाबारे छानबिन गर्न परिसर ललितपुरले डीएसपी नरहरि अधिकारीको नेतृत्वमा समिति गठन गरेको थियो । उक्त समितिले हनी ट्र्याप प्रकरणका मुख्य योजनाकार ताज स्लामको मोबाइल र १० लाख रुपैयाँको चेक समेत गायब बनाइएको निष्कर्ष निकालेको थियो ।