१६ मंसिर, काठमाडौं । बैंकहरूको उठ्न नसकेको ब्याज सवा दुई वर्षमा शतप्रतिशतभन्दा धेरै बढेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष (आव) २०८०/८१ को असोज मसान्तसम्मको तथ्यांक अनुसार बैंकहरूले परिपक्व भएर उठाउन नसकेको ब्याज करिब १ खर्ब ३६ अर्ब पुगेको छ

तथ्यांक अनुसार असोज २०८१ सम्म बैंकहरूको उठ्न नसकेको बक्यौता ब्याज १ खर्ब ३५ अर्ब ८३ करोड २१ लाख रुपैयाँ छ । असोज २०८० मा १ खर्ब २० अर्ब ३८ करोड ९४ लाख थियो । यो भनेको एक वर्षमा १२.८ प्रतिशत बढी हो ।

आर्थिक वर्ष अन्तिम त्रैमासमा बैंकहरूले कर्जा असुलीमा जोड दिने भएकाले असार मसान्तमा उक्त रकम केही घटेको देखिन्छ । असार २०८१ मा बैंकहरूले उठाउनुपर्ने बक्यौता ब्याज रकम १ खर्ब १९ अर्ब ५८ करोड ८६ लाख थियो । पछिल्लो तीन महिनामै उक्त रकम १६ अर्बभन्दा धेरैले बढेको छ ।

असार २०७९ मा यस्तो बक्यौता ब्याज ६१ अर्ब ३५ करोडमात्र थियो । पछिल्लो २७ महिनामा १२१.४० प्रतिशतले बढेको छ ।

नेपाल फाइनान्सियल एकाउन्टिङ स्ट्यान्डर्ड अनुसार ‘एक्रुअल’ आधारमा वित्तीय विवरण तयार गर्नुपर्ने हुन्छ । बैंकहरूले पाकेको ब्याजलाई आम्दानी मानेर नाफा नोक्सानको स्थिति आकलन गर्छन् ।

तर, ब्याज उठेको छैन भने राष्ट्र बैंकको व्यवस्था अनुसार त्यस्तो रकमबाट बैंकहरूले आयकर तिर्ने र कर्मचारी बोनसका लागि छुट्याए बाँकी रकम नियामकीय जगेडा कोषमा छुट्याउनुपर्ने हुन्छ ।

चालु आवदेख भने राष्ट्र बैंकले आयकर तिर्ने र कर्मचारी बोनसका साथै साधारण जगेडा कोष र संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषमा छुट्याएको रकम समेत कटाएर नियामकीय जगेडा कोषमा जम्मा गर्न सक्ने व्यवस्था गरेको छ ।

बैंकहरूले एक्रुअल आधारमा वित्तीय विवरण तयार गर्दा नउठेको ब्याजलाई पनि आम्दानी जनाउनुपर्ने हुन्छ । त्यस्तो ब्याज गत असोजसम्म १ खर्ब ३५ अर्ब ८३ करोड पुगेको छ । असार २०८० मा यस्तो रकम ९९ अर्ब थियो । उठ्न नसकेको ब्याजसँगै बैंकहरूको गैरबैंकिङ सम्पत्ति समेत सोही गतिमा बढेको छ ।

असोज मसान्तमा वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ३७ अर्ब पुगेको एक बैंकरले बताए । गत असार मसान्तमा करिब ३० अर्ब रहेकोमा तीन महिनामा अझै बढेको छ । बैंकहरूले लिलाम गरेको धितो बिक्री नभएर सकारेको सम्पत्ति र उठ्न नसकेको ब्याज उच्च दरमा बढिरहेको छ । जसले बैंकहरूलाई वासलतमा मात्रै प्रभाव परेको छैन, पूँजीकोषमा समेत दबाब बढ्दै गएको छ ।

बैंकहरूको उठ्न नसकेको ब्याज असार २०७९ को तुलनामा असार २०८० मा ६२.७ प्रतिशतले बढेको थियो । जसले पछिल्ला दिनमा वाणिज्य बैंकहरूको लाभांश क्षमता कमजोर बन्दै गएको देखाउँछ ।

चार वाणिज्य बैंक सञ्चित नोक्सानीमा छन् भने गत वर्ष र चालु आव पनि करिब आधा वाणिज्य बैंकले सेयरधनीलाई लाभांश वितरण गर्न नसक्ने अवस्था छ ।

यसअघि बैंकहरूले उठ्न नसकेको ब्याजबाट कर र कर्मचारी बोनसका लागि रकम छुट्याएपछि करिब ६३ प्रतिशत नियामकीय जगेडा कोषमा छुट्याउनुपर्ने हुन्छ ।

अब साधारण जगेडा कोष र सीएसआर कोषको समेत रकम कटाएर नउठेको ब्याजको करिब ५० प्रतिशत नियामकीय जगेडा कोषमा छुट्याउनुपर्ने व्यवस्था भएको छ ।

यस्तै गैरबैंकिङ सम्पत्ति बुक गर्दा पनि उठ्न बाँकी ब्याज नदेखिए आयकर र कर्मचारी बोनसका साथै साधारण जगेडा कोष र सीएसआर कोषमा समेत छुट्याएर बाँकी करिब ५० प्रतिशत नै नियामकीय जगेडामा छुट्याउनुपर्छ । यसरी उठ्न नसकेको ब्याज पछि असुल हुँदा सेयरधनीलाई लाभांश बाँड्न पाइन्छ भने गैरबैंकिङ सम्पत्ति बुक गर्दा त्यसलाई बिक्री गरेपछि त्यसबाट लाभांश बाँड्ने गरी नियामकीय जगेडा कोषबाट सञ्चित नाफामा सार्न सकिन्छ ।

बैंकहरूले ब्याज उठाउन नसक्दा खुद कर्जा विस्तार न्यून भए पनि बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रमाथिको दाबी ५३ खर्ब ३८ अर्ब ४५ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

असार २०८१ मा ५१ खर्ब ९३ अर्ब ५६ करोड रहेको बैंक तथा वित्तीय क्षेत्रको निजी क्षेत्रमाथिको दाबी पछिल्लो तीन महिनामा करिब २.७९ प्रतिशतले बढेको हो । उठ्न बाँकी ब्याज बक्यौतामा भएको वृद्धिले उक्त वृद्धिदर थप बढाएको छ ।

उठ्न बाँकी ब्याज समेत निजी क्षेत्रमाथिको दाबी ५३ खर्ब ३८ अर्ब नाघ्दै गर्दा साँवा मात्रै करिब ५२ खर्ब ३ अर्ब पुगेको छ । जसमध्ये गैरबैंकिङ संस्थागत ऋणीलाई ३३ खर्ब २८ अर्ब ७६ करोड र व्यक्तिगत ऋणीलाई १८ खर्ब ७३ अर्ब ८५ करोड कर्जा लगानी रहेको छ ।

बढ्दो निष्क्रिय कर्जाले बैंकहरूको असुल हुन नसकेको ब्याज बक्यौता मात्रै बढेको छैन । सोही गतिमा कर्जा नोक्सानी व्यवस्था पनि बढेको छ ।

असार २०७९ तुलनामा असोज २०८१ मा बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा अनुपात २३७.४० प्रतिशतले वृद्धि भएको देखिन्छ । असार २०७९ मा बैंक तथा वित्तीय संस्थाको औसत निष्क्रिय कर्जा अनुपात १.३१ प्रतिशतमात्र थियो । पछिल्लो २७ महिनामा ३.११ प्रतिशत बिन्दुले वृद्धि भई ४.४२ प्रतिशत पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

निष्क्रिय कर्जामा भएको वृद्धि अनुपातमा कर्जा नोक्सानी व्यवस्था भने बढेको छै्रन । असार २०७९ मा निष्क्रिय कर्जाका लागि १ खर्ब १० अर्ब ३० करोड कर्जा नोक्सानी व्यवस्था गरेको थियो । असोज २०८१ मा उक्त रकम बढेर २ खर्ब ४२ अर्ब ७७ करोड पुगेको छ ।

त्यस्तै असोज २०८१ मा वाणिज्य बैंकमा मात्र उठ्न नसकेको ब्याज रकम १ खर्ब १२ अर्ब ८२ करोड पुगेको छ । वाणिज्य बैंकहरूको औसत निष्क्रिय कर्जा अनुपात ४.२८ प्रतिशत पुग्दा कर्जा नोक्सानी व्यवस्था २ खर्ब ११ अर्ब ७१ करोड पुगेको छ ।

विकास बैंकहरूको उठ्न नसकेको ब्याज बक्यौता १० अर्ब ८९ करोड पुगेको छ । विकास बैंकहरूको औसत निष्क्रिय कर्जा अनुपात ४.३७ प्रतिशत र कर्जा नोक्सानी व्यवस्थामा छुट्याएको रकम २१ अर्ब ४७ करोड पुगेको छ ।

फाइनान्स कम्पनीको उठ्न नसकेको ब्याज बक्यौता करिब १२ अर्ब १३ करोड पुगेको छ । उनीहरूको औसत निष्क्रिय कर्जा अनुपात १०.८४ प्रतिशत र कर्जा नोक्सानी व्यवस्थाको रकम ९ अर्ब ५९ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाको उठ्न नसकेको ब्याज बक्यौता

२०८१ असोज : १ खर्ब ३५ अर्ब ८३ करोड
२०८१ असार : १ खर्ब १९ अर्ब ५९ करोड
२०८० असार : ९९ अर्ब ७९ करोड
२०७९ असार : ६१ अर्ब ३५ करोड
बैंक तथा वित्तीय संस्थाको औसत निष्क्रिय कर्जा अनुपात

२०८१ असोज : ४.४२ प्रतिशत
२०८१ असार : ३.८६ प्रतिशत
२०८० असार : २.५८ प्रतिशत
२०७९ असार : १.३१ प्रतिशत
बैंकहरूले सम्भावित कर्जा नोक्सानीमा गरेको व्यवस्था

२०८१ असोज : २ खर्ब ४२ अर्ब ७७ करोड
२०८१ असार : २ खर्ब ३० अर्ब १ करोड
२०८० असार : १ खर्ब ६८ अर्ब १२ करोड
२०७९ असार : १ खर्ब १० अर्ब ३० करोड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0