१८ मंसिर काठमाडौं । भक्तपुरका रजन श्रेष्ठ उच्च शिक्षा अध्ययनको लागि बेलायत जान वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिन सानोठिमी पुगेका थिए । नेपालमा बीबीए सकाएका उनी बेलायतमा मास्टर्सको लागि जान लागेका हुन् ।
स्नातकोत्तर तहको पढाइ नेपालमा नभएको होइन तर शैक्षिक क्यालेन्डर लागू नहुँदा पढाइ कहिले सकिन्छ भन्ने यकिन छैन । त्यसैले उनले उच्च शिक्षाको थप अध्ययनका लागि बेलायत रोजेका हुन् । ‘यहाँ कहिले कक्षा हुन्छ, कहिले परीक्षा हुन्छ, कहिले नतिजा आउँछ थाहा हुँदैन । समयको बर्बाद हुन्छ,’ उनले भने ।

नेपालमा भन्दा व्यावहारिक तबरबाट पढाइ हुने भएकाले पनि उनको रोजाइमा बेलायत परेको हो । ‘उता प्राक्टिकल धेरै गर्न पाइन्छ । पढ्दै काम पनि गर्न पाइन्छ । नेपालमा पढेर काम पाइने स्थिति छैन,’ बेलायत रोज्नुको कारण उनले सुनाए ।

उनी मात्र होइन ‘जनवरी इन्टेक’को लागि एनओसी लिन सानोठिमी पुगेका विद्यार्थीको लाइन थियो । यसबाट नेपाली विद्यार्थीका लागि बेलायत आकर्षणको केन्द्र बनेको देखिन्छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा मात्र ५ हजार ४ सय ५३ जनाले एनओसी लिएका छन् । यो तथ्यांक गत साउनदेखि असोजसम्मको हो । गत आर्थिक वर्षमा १ लाख १२ हजार ५९३ विद्यार्थीले एनओसी लिएकामा बेलायतका लागि १३ हजार ३ सय ३९ जनाले लिएका थिए ।

तथ्यांकले अध्ययनका लागि बेलायत जाने विद्यार्थीको ग्राफ उकालो लागेको देखिन्छ । तर एनओसी लिएका सबै विदेश जान्छन् भन्ने छैन । एनओसी लिएकामध्ये कति बेलायत गए भन्ने तथ्यांक सरकारसँग छैन । शैक्षिक परामर्शदाताहरू पछिल्लो समय बेलायत विद्यार्थीको रोजाइमा परेको दाबी गर्छन् ।

विद्यार्थीको रोजाइमा किन बेलायत परेको हो त ?

भिसा प्रक्रिया सहज

पछिल्लो समय बेलायत जान भिसा प्रक्रिया सहज भएको छ । अमेरिका, अष्ट्रेलिया, क्यानडा लगायतका देशले भिसामा कडाइ गर्दा विद्यार्थीहरू बेलायतका लागि उडान भरिरहेका छन् ।

बेलायतका कतिपय विश्वविद्यालयले आइएलटीएस नगरेका विद्यार्थीको पनि भर्ना लिइरहेको छ । यसले गर्दा विद्यार्थीको रोजाइमा बेलायत परेको शैक्षिक परामर्शदाताहरू बताउँछन् । ‘भिसाको सहजता भएर विद्यार्थीको रोजाइमा बेलायत परेको हो,’ अप्टिमस ग्लोबल एजुकेसन कन्सल्टेन्सीका निर्देशक असीम मैनालीले भने, ‘अमेरिका, क्यानडा, अष्ट्रेलियाले भिसामा कडाइ गरेर पनि हो ।’

प्लस टुमा वा स्नातकमा अंग्रेजीमा राम्रो अंक ल्याएको भएमा आइएलटीएस गर्नु नपर्ने भएकाले विद्यार्थीलाई सहज भएको बताउँछन् मैनाली । ‘भाषा भनेको माध्यम हो । आइएलटीएस नगरे पनि विद्यार्थीले पढ्न सक्छन् । बेलायत गएको एक वर्षभित्र विद्यार्थी घुलमिल भइसक्छन्,’ उनले भने । ‘जनवरी इन्टेक’मा बेलायत जान यतिबेला विद्यार्थी तयारी गरिरहेका छन् । ‘बेलायत जान विद्यार्थी उत्साहित देखिन्छन्,’ उनले भने ।

पढ्दै काम गर्दै

खासमा विद्यार्थी पढ्नका लागि जाने हो । धेरैको सोचाइ विदेश गएपछि कमाइ राम्रो हुन्छ भन्ने छ । पहिलो प्राथमिकता कामभन्दा पढाइ हो । त्यसैले जाँदा नै सबै बुझेर मात्र जान परामर्शदाताहरूको सुझाव छ ।
पढ्दै काम गर्ने अवसर पाउने भएकाले नेपाली विद्यार्थीहरु बेलायत जान चाहेका हुन् । मैनालीका अनुसार हप्तामा २० घण्टा र १५ दिनमा ४० घण्टा काम गर्न विद्यार्थीले पाउँछन् । ‘कतिपय विश्वविद्यालयले विद्यार्थीलाई बिदाको समयमा काम गर्न दिने गरेको छ । काम पनि गरेका छन् । डिग्री पनि लिएका छन्,’ उनले भने ।

डिग्री हातमा परेपछि राम्रो ठाउँमा कामको अवसर पनि विद्यार्थीले पाउने गरेको उनी बताउँछन् । ‘बेलायत गएका विद्यार्थी खुसी छन् । कति कमायो ? कस्तो काम गर्‍यो त्यो सोध्ने कुरा भएन । तर गएका विद्यार्थी खुसी छन्,’ मैनालीले भने ।

कति खर्च लाग्छ ?

कुन विश्वविद्यालयमा जाने र कुन कोर्स पढ्ने भन्नेमा खर्चको मापन हुन्छ । करिब २० देखि ३० लाखसम्म लाग्ने परामर्शदाताहरू बताउँछन् ।

‘बेलायतको इन्स्योरेन्स महंगो छ । यसमा ५–६ लाख लाग्छ । ट्युशनका लागि १० देखि १२ हजार पाउन्ड लाग्छ,’ मैनालीले भने, ‘सुरुमा कति शुल्क तिर्ने हो त्यसमा पनि भर पर्छ । कतिले दुई–तीन महिनाको मात्र तिरेर गएको हुन्छ ।’ उनका अनुसार धेरैजसो बेलायत जानेमा प्लस टु र ब्याचलर सकेर जाने छन् ।

के कुरामा ध्यान दिने ?

खासमा विद्यार्थी पढ्नका लागि जाने हो । धेरैको सोचाइ विदेश गएपछि कमाइ राम्रो हुन्छ भन्ने छ । पहिलो प्राथमिकता कामभन्दा पढाइ हो । त्यसैले जाँदा नै सबै बुझेर मात्र जान परामर्शदाताहरूको सुझाव छ । ‘आमा–बुबाको काख छोडेर जाने कुरा सजिलो छैन । विद्यार्थीलाई पढ्न पठाउने हो, काम गर्न होइन,’ मैनालीले भने, ‘घाँटी हेरेर हाड निल्नुपर्छ । कुन विषय पढ्ने हो, कुन विश्वविद्यालमा जाने हो, शुल्क कति लाग्छ सबै बुझेर मात्र जानुपर्छ ।’ विद्यार्थी र अभिभावकले आफ्नो आर्थिक क्षमताको आधारमा निर्णय लिनुपर्ने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0