जतिबेला पनि निद्रा लाग्छ ? हाइपरसोम्निया पनि हुनसक्छ

शरीरलाई स्वस्थ राख्न सातदेखि आठ घण्टा सुत्नुपर्छ । यति समय रातमा गहिरोसँग निदाउँदा शरीरलाई आराम पुग्छ । तर पर्याप्त सुतेर पनि दिनभर निद्रा लागिरह्यो भने हाइपरसोम्निया भएको हुनसक्छ । जसको छिटो पहिचान भई उपचार गर्दा निको हुनसक्छ ।

शरीरलाई आवश्यकभन्दा बढी निद्रा लाग्नु हाइपरसोम्निया हो । यस्तोमा राति राम्रोसँग निदाएर पनि दिउँसो पनि निद्रा लागिरहने हुनसक्छ ।

अन्तर्राष्ट्रिय जर्नल स्लिप फाउन्डेसनका अनुसार लगभग ४० प्रतिशतमा हाइपरसोम्नियाको लक्षण देखिन्छ ।

यसो भन्दैमा दिउँसो सुत्ने बित्तिकै हाइपरसोम्निया भयो भन्न मिल्दैन । दिनचर्यामा कुनै परिवर्तनका कारण कहिलेकाहीं निद्रा लाग्नु सामान्य अवस्था हो । तर सातामा तीन दिन भन्दा बढी दिनमा पनि अत्याधिक निद्रा लागेर दैनिकीमा अवरोध ल्याइरहेको छ भने हाइपरसोम्नियाको शंका गरी स्वास्थ्य परीक्षण गराउनुपर्छ ।

कारण

हाइपरसोम्निया हुने एक मात्र कारण हुँदैन । खराब जीवनशैली, विभिन्न रोगदेखि औषधिहरूको प्रयोग यसको मुख्य जिम्मेवार मानिन्छ ।

हाइपोथाइराइड भएको व्यक्तिलाई हाइपरसोम्निया हुनसक्छ । थाइराइडको स्तर घटने अवस्था हाइपोथाइराइड हो । यस्तोमा शरीरमा बढी थकान हुने र निद्रा मात्र लाग्ने समस्या हुन्छ ।

अर्को भनेको स्नायुसम्बन्धी रोगले गर्दा हुनसक्छ । जस्तै, मस्तिष्कमा पानी जमेको, संक्रमण वा ब्रेन ट्युमर भएको व्यक्तिलाई पनि जतिखेरै निद्रा लाग्न सक्छ । विशेषगरी यो समस्या मस्तिष्कमा पानी जमेको बच्चामा देखिन्छ ।

सिजोफेर्निया जस्तो मस्तिष्क रोग भएका व्यक्ति, रोगका कारण धेरै औषधि खानुपर्ने अवस्था भएका, हर्मोनल परिवर्तन, शरीरमा पानीको कमी (डिहाइड्रेसन), निद्रासम्बन्धी रोग (नर्कोलेप्सी), पक्षघात, पार्किन्सन्स रोग, अत्याधिक मदिरा तथा नशालु पदार्थ सेवन, टाउकोमा लागेको चोट पनि यसको कारक हुनसक्छ ।

केही प्रकारको मस्तिष्कका क्यान्सर जस्तो व्रोनियोफेरिन्जयोमाबाट पीडित बच्चामा हाइपरसोम्निया हुने जोखिम उच्च हुन्छ । यो ट्युमर निद्राको नियमित गर्न मद्दत गर्ने मस्तिष्क संरचना हाइपोथलेमस नजिक विकसित हुन्छ । कहिलेकाहीं हाइपरसोम्निया कुनै कारणवश सिर्जना हुन्छ ।

यदि अनावश्यकरुपमा निद्रा लागिरहयो र बेलैमा नियन्त्रण भएन भने कालान्तरमा मधुमेह हुने, रगतमा संक्रमण, डिप्रेसनको सिकार हुने, मोटोपन बढ्ने समस्या देखिनसक्छ ।

कसरी गराउँछ ?

दिमागमा पाइनल ग्रन्थी हुन्छ, जसले दिन र रात छुट्याउँछ । र, रातमा निद्रा लगाउन भूमिका खेल्छ । कुनै कारणवश त्यसमा अवरोध आएमा जतिखेरै निद्रा लाग्न सक्छ ।

त्यस्तै, कलेजोमा हेपाटिक इसेफालोप्याथीको समस्या हुँदा पनि बढी निद्रा लाग्छ । कारण भनेको यो समस्याले कलेजोबाट उत्पादन भई शरीरमा विषाक्त फैलाउँछ । जुन दिमागसम्म पुगेर निद्राको चक्र बिग्रिन्छ ।

– हरेक समय थकान अनुभव हुनु, भोक नलाग्नु ।

– कुनै पनि काम गर्ने जाँगर नहुनु वा मन नलाग्नु ।

– रातमा निद्रा राम्रोसँग परेपनि दिनमा पनि निद्रा लागेर हैरान हुनु ।

– निद्राबाट ब्युँझिन असहज हुनु तथा उठेपछि भ्रमित अनुभव गर्नु ।

– उठेपछि निद्रा नपुगे जस्तो हुनु, टाउको दुख्नु र चिडचिडापन बढ्नु ।

पहिचान

चिकित्सकले लक्षण, मेडिकल इतिहास, सुताइको अवस्था र अहिलेको स्वास्थ्य अवस्थाबारे जानकारी लिन्छन् ।

आवश्यक परे ब्लड काउन्ट, हर्मोन र अन्य जाँच परीक्षण हुन्छ । अर्को भनेको ईईजी परीक्षण गरिन्छ । जसबाट दिमागको अवस्था हेरी निद्रा कतिको अस्वाभाविक भनेर पत्ता लाग्छ ।

उपचार

यो विभिन्न थरीका स्वास्थ्य समस्याका कारण लाग्ने हुँदा यसको लक्षणअनुसारको रोग पत्ता लगाई उपचार गरिन्छ ।

यससँगै सुताइको अवस्थालाई पनि परिवर्तन गर्नुपर्ने हुन्छ । यसका लागि दिनको निर्धारित समयमा निद्रा कम लगाउन शारीरिक गतिविधिले सक्रियता बढाउने र जीवनशैलीमा ध्यान दिनुपर्छ । जसमा शारीरिक व्यायाम, कफी पिउने, हाइड्रेट राख्न पर्याप्त पानी पिउने र सम्भव भए निद्रा लाग्दा नुहाउन सकिन्छ ।

हाइपरसोम्नियाको लागि केही औषधि सिफारिस हुनसक्छ ।

रोकथाम

– राति सुत्नुअघि धेरै भारी खानेकुरा नखाने, हल्का खाना खाएर मात्र सुत्ने ।

– मद्यपान र धुम्रपानको बानी धेरै छ भने कम गर्ने ।

– कहिले सुत्ने र कहिले ब्युँझिने समय तय गर्ने ।

– तौललाई नियन्त्रणमा राख्ने ।

– खानामा पौष्टिक चीजहरू समावेश गर्ने ।

– सुत्ने कोठाको वातावरण शान्त हुनुपर्छ ।

– हरेक दिन सक्रिय रहने ।

– निद्रा लाग्ने औषधि सेवन नगर्ने ।

– राति अबेरसम्म काम नगर्ने ।
@प्रा. डा. राजीव झा onlinekhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *