४ पुस, नयाँदिल्ली । भारतीय संसद् भवन परिसरमा सत्तारुढ र विपक्षी र गठबन्धनबीच भएको झडपलाई लिएर दुवै पक्षले एकअर्कालाई आरोप-प्रत्यारोप गरिरहेका छन् ।

संसद परिसरमा अम्बेडकरको मुद्दामा विपक्षी सांसदहरूले प्रदर्शन गर्ने क्रममा झडप भएको कांग्रेस नेता राहुल गान्धीले बताएका छन् । उनले गौतम अडानीको मुद्दालाई दबाउन भाजपाले जानाजान गरेको झडप भनेका छन् ।

‘भाजपाले यो सबै जानाजान गरेको हो ताकि अडानीको मुद्दालाई दबाउन सकियोस्,’ उनले भने । उनले अडानीको मुद्दामा छलफलबाट बच्न भाजपाले ध्यान मोड्ने प्रयास गरिरहेको छ।

अडानीविरुद्ध अमेरिकामा आरोप पत्र दर्ता भएको र कांग्रेसले संसदमा यसबारे छलफल चाहिरहेको सन्दर्भमा भाजपाले विषयान्तर गर्न खोजेको उनको आरोप छ ।

कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले भाजपाले अम्बेडकरको अपमान गरेको छ र यस्ता मानसिकता निन्दनीय रहेको बताए ।

संसद भवन अगाडि भएको झडपमा भारतीय जनता पार्टी (भाजपा) का सांसद प्रतापचन्द्र सारङ्गी र मुकेश राजपुतलाई चोट लागेको भाजपाले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सांसद सारङ्गी र राजपुतलाई फोन गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

भारतीय राष्ट्रिय काङ्ग्रेसका नेता राहुल गान्धीले भाजपा सांसदहरूले आफूलाई संसद्मा प्रवेश गर्नबाट रोकेको र धकेलेको आरोप लगाएका छन् ।

काङ्ग्रेसले सत्तारूढ पार्टीका सांसदले धकेल्दा आफ्ना अध्यक्ष मल्लिकार्जुन खड्गेलाई खुट्टामा चोट लागेको बताएको छ ।

यता, कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड़गेले लोकसभाका सभामुखलाई एक पत्र लेख्दै साथ बीजेपीका सांसदहरूको धक्कामुक्कीका कारण आफ्नो खुट्टामा चोट लागेको र मकर गेटमा उभिइरहँदा लड्न पुगेको आरोप लगाएका छन् ।

उनले पत्रमा भनेका छन्, ‘ बीजेपीका सांसदहरू मकरद्वारमा मसँग धक्कामुक्की गरिरहे। त्यसैका कारणले मेरो घुँडामा लाग्‍यो र अनियन्त्रित भएर लड्न पुगेँ।’ उनले लोकसभाको सभामुखसँग उक्त घटनाको छानबिन गर्नसमेत माग गरेका छन् ।

भाजपा नेता तथा संघीय सरकारका गृहमन्त्री अमित शाहले बाबासाहेब अम्बेडकरविरुद्ध गरेको अपमानजनक टिप्पणी गरेको बिषयमा सत्तारूढ दल र विपक्षी दलका नेताबीच विवाद चर्किँदा संसद् परिसरमा समेत झडप भएको हो ।

भारतीय जनता पार्टी (भाजपा) का सांसद सारङ्गीले कांग्रेस नेता राहुल गान्धीको धक्काले आफू घाइते भएको दावी गरेका छन् ।

घटनापश्चात भाजपा सांसदलाई एम्बुलेन्समा राखेर उपचारका लागि लगिएको थियो। दुवै सांसदलाई दिल्लीको राममनोहर लोहिया अस्पतालमा भर्ना गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अजय शुक्लाले बताए ।

उनले भने, ‘उहाँहरूको स्वास्थ्य परीक्षण भइरहेको छ । लक्षणसहितको उपचार सुरु भएको छ । दुवैजनाको टाउकोमा चोट लागेकाले आईसीयूमा भर्ना गरिएको छ।’

उनले भने, ‘अस्पतालमा ल्याइपुर्‍याँउँदा सांसद् सारङ्गीलाई गहिरो चोट लागेको र अत्यधिक रक्तस्राव भइरहेको थियो, अहिले उहाँको उपचार सुरू गरिएको छ । परीक्षणहरू पनि भइरहेका छन्।’

शुक्लाले अगाडि भने, ‘राजपुत बेहोस भएपछि ल्याइएको र अहिले उहाँ होशमा हुनुहुन्छ तर चिन्तित देखिनुहुन्छ ।’

काङ्ग्रेस नेता राहुल गान्धीले घटनामा आफ्नो बचाउ गर्दै भने, ‘म संसदभित्र पस्ने कोसिस गरिरहेको थिएँ, मलाई भाजपा सांसदहरूले धकेले र अवरोध गर्दै धम्की दिए।’

गान्धीले भने, ‘उनीहरूले काङ्ग्रेस प्रमुख मल्लिकार्जुन खड़्गेलाई पनि धकेले । यो तपाईंको क्यामेरामा हुन सक्छ।’

उनले थपे, ‘हामीलाई झट्काले असर गर्दैन । यो प्रवेशद्वार हो र हामीलाई भित्र जाने अधिकार छ।’

कांग्रेस सांसद केसी वेणुगोपालले भारतीय जनता पार्टी (भाजपा) का सांसदहरूले कांग्रेस नेताहरूलाई संसद्मा प्रवेश गर्नबाट रोकेको आरोप लगाएका छन् ।

उनले भने, ‘लज्जाजनक घटना भएको छ । भाजपाका सांसदहरूले कांग्रेसका अध्यक्ष तथा आदरणीय नेतालाई धक्का दिए भने लोकसभाका विपक्षी नेतालाई पनि सदनमा प्रवेश गर्नबाट रोकियो र धकेलियो। भाजपाका यी सांसदहरू वातावरण बिगार्न र संसदको गरिमा घटाउनका लागि स्पष्ट रूपमा जिम्मेवार थिए।’

भाजपा नेता तथा संघीय सरकारका गृहमन्त्री अमित शाहले बाबासाहेब अम्बेडकरविरुद्ध गरेको अपमानजनक टिप्पणीको जवाफदेहिताबाट उनीहरूलाई कुनै पनि नाटक वा छलकपटले बचाउन सक्दैन।

भारतीय जनता पार्टी (भाजपा) ले गान्धी र अन्य सांसदहरूविरुद्ध भाजपा सांसदहरूविरुद्ध शारीरिक हिंसाको आरोप लगाउँदै उजुरी दर्ता गर्ने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0