५ पुस, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले तत्काल सरकार फेरबदल नहुने दाबी गरेका छन् ।
शुक्रबार काठमाडौंमा कैलाश कोइरालाद्वारा लिखित उपन्यास शास्त्रको विमोचन कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
‘मन्त्रिमण्डलको फेरबदलको कुरा चलिरहेको छ, गृहमन्त्रीमा अब गगन थापा जाँदैछन् भन्ने पनि छ नि ?’ भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा थापाले भने, ‘सरकारको कुनै फेरबदल अहिले हुँदैन ।’
साथै, उनले वर्तमान सरकार राम्रोसँग चलेको भएपनि जनताले लिएको आशा अनुुसार डेलिभरी भने हुन नसकेको थापाले बताए ।
‘सरकार राम्रोसँग चलिरहेको छ । सरकारका कमीकमजोरीका बारेमा प्रधानमन्त्री पक्कैपनि सचेत हुनुहुन्छ । सरकार बनिसकेपछि जुन आशा अनुरुप डेलिभरी हुनुपर्ने हो त्यो भइरहेको छैन,’ उनले भने ।
सरकारको डेलिभरीबारे प्रधानमन्त्री केपी शर्मा ओली आफैं सचेत हुनुपर्ने उनको भनाइ थियो ।
‘तर, सरकारले गर्नुपर्ने डेलिभरी जसरी गर्नुपर्ने हो त्यसरी भइरहेको छैन भन्ने विषयमा प्रधानमन्त्री आफैं सचेत रहनुपर्छ । र उहाँ हुनुहुन्छ,’ थापाले भने, ‘जसरी सरकार कुद्नुपर्ने हो त्यसरी भइरहेको छ । सबैभन्दा पहिला त मलाई महसुश भएको छ ।’