८ पुस, काठमाडौं । नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायता बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पुस पहिलो सातासम्म २ खर्ब २ अर्ब ४० करोड रुपैयाँ बराबर वैदेशिक सहायताको नयाँ प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

गत आव २०८०/८१ को सोही अवधिमा ५९ अर्ब ९८ करोड रुपैयाँ मात्र प्रतिबद्धता प्राप्त भएको मन्त्रालयको तथ्यांक छ । यस अवधिमा प्रतिबद्धता २३७.५ प्रतिशतले बढेको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिए ।

प्रवक्ता भट्टराईका अनुसार यस अवधिमा वैदेशिक अनुदान प्रतिबद्धता १५३.१ प्रतिशत र वैदेशिक ऋण प्रतिबद्धता २८०.६ प्रतिशत बढेको छ ।

चालु आव हालसम्म अवधिमा प्राप्त वैदेशिक सहायता प्राप्तिसमेत गत आव सोही अवधिको तुलनामा ३०.३ प्रतिशत बढेको छ । अर्थ प्रवक्ता भट्टराईका अनुसार यस अवधिमा वैदेशिक अनुदान ६ अर्ब ७५ करोड रुपैयाँ र वैदेशिक ऋण ३७ अर्ब ३३ करोड रुपैयाँ समेत कुल ४४ अर्ब ८ करोड वैदेशिक सहायता प्राप्त भएको छ ।

चालु आव सरकारले ५२ अर्ब ३२ करोड रुपैयाँ बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेको छ । लक्ष्य भेट्न भने अझै धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ ।

अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार वैदेशिक अनुदान तथा ऋण प्राप्तिमा विकास निर्माण गतिले समेत भूमिका खेल्छ । आयोजना जति छिटो कार्यान्वयन भयो, रकम प्राप्ति समेत सोही गतिमा बढ्ने अधिकारीहरू बताउँछन् ।

यस वर्ष सरकारले २ खर्ब १७ अर्ब रुपैयाँ वाह्य ऋण लिने लक्ष्य राखेको छ । सरकारले आन्तरिक ऋण उठाउने लक्ष्य भने ३ खर्ब ३० अर्ब रुपैयाँ बराबर राखेको छ । त्यसमध्ये मंसिर मसान्तसम्म १ खर्ब ९२ अर्ब २९ करोड रुपैयाँ उठाइसकिएको अर्थ मन्त्रालयले जनाएको छ ।

नेपालले द्विपक्षीय र बहुपक्षीय निकायबाट वाह्य सार्वजनिक ऋण लिने गरेको छ । त्यसमध्ये बहुपक्षीय दाताको ऋण बाहुल्य धेरै छ । एसियाली विकास बैंक र विश्व बैंक नेपालमा बढी ऋण लगानी गर्ने बहुराष्ट्रिय निकाय हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0