काठमाडौँ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएको भोलिपल्टैदेखि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाट पुरनै चरित्र प्रदर्शन हुन थालेको दाबी गरेका छन् । आइतबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा जनताको अभिमतलाई सम्मान गर्दै उपलब्ध विकल्पमध्ये चुनावलगत्तै प्रचण्डलाई प्रधानमन्त्रीमा प्रतावित गरेर नयाँ समीकरण निर्माण गरेको उल्लेख छ ।
त्यसअघि कांग्रेससँग राजनीतिक स्थायित्वका लागि दुई मुख्य दल सहकार्यका साथ अघि बढौ भनेर प्रस्ताव गरेपनि त्यो प्रस्ताव कार्यान्यन हुन नसकेपछि बाध्यात्मक विकल्पका रुपमा प्रचण्डलाई चुनावपछि नयाँ सरकारको नेतृत्वमा एमालेल स्वीकारेको ओलीको भनाइ छ ।
प्रतिवेदनमा भनिएको छ, ‘तर प्रधानमन्त्री भएको भोलिपल्टदेखि नै प्रचण्डबाट आफ्नो पुरानै चरित्र प्रदर्शन हुन थाल्यो । राष्ट्रपतिको निर्वाचनको बिन्दुसम्म आइपुग्दा त माओवादी केन्द्र दाउपेच, विश्वासघात र शक्ति केन्द्रहरूको दबाब सामु आत्मसमर्पणको तल्लो बिन्दुसम्म ओर्लियो । त्यस स्थितिमा हामी सरकारमा बसिरहन सक्ने अवस्था हुँदैनथ्यो। हामी सरकारबाट बाहिरियौं ।’
त्यसपछि बनेको कांग्रेस र माओवादीको सरकारका क्रियाकलापमा प्रशन उठेको र माओवादीसँग पार्टीको छलफल हुँदा गल्ती नदोहोरिने बाचा भएपनि २०८० फागुन ११ मा पुनः सो पार्टीसँग सत्तामा सहकार्य भएको ओलीको जिकिर छ । तर पनि प्रचण्डबाट दाउपेचको चेती चलिरहेपछि देशलाई निकास दिन भनेर २०८१ असार १७ मा कांग्रेस र एमालेबीच ७ बुँदे सहमति निर्माण भनेर अहिलेसम्म सोही सरकार यथावत रहेको ओलीको प्रतिवेदनमा उल्लेख छ।