२५ पुस, पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनछेक बहस सकिएसँग राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरू पोखरामा जम्मा भएका छन् ।
बिहीबार सरकारी वकिलको तर्फबाट बहस सकिएपछि रास्वपा कार्यबाहक सभापति डीपी अर्याल, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद विराजभक्त महर्जन, विनिता कठायत लगायतका नेताहरू कास्की अदालत परिसरमा पुगेका हुन् ।
धेरैजसो नेताहरू अदालत बाहिर बसिरहेका छन् । केही शीर्ष नेताहरू भने अदालत बाहिर र भित्र गरिरहेका छन् ।
प्रहरीले अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बनाएको छ । नेपाल प्रहरी र सशत्र प्रहरीले निषेधित क्षेत्रमा सुरक्षा दिइरहेका छन् ।
निषेधित क्षेत्रबाहिर रास्वपा कार्यकर्ता र सहकारी पीडित छन् ।
अदालतभित्र रवि–निकीतालगायत विश्राम कक्षमा राखिएको छ । अदालत स्रोतका अनुसार आजै आदेश आउन सक्ने सम्भावना छ ।
देशकै कान्छा न्यायाधीश नीतिज राईको इजलासमा उक्त मुद्दाको बहस भएको थियो ।
लामिछानेसहित पूर्व डिआइजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, रविको सहयोगी लिला पछाईं, पूर्व सांसद तथा संस्थापक उपाध्यक्ष मीना गुरुङ, संस्थापक सदस्य मीनाकै बाबु कृष्णबहादुर र पूर्व कोषाध्यक्ष आरती गुरुङविरुद्ध जवाफी बहस सकिएसँगै न्यायाधीश राइको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने फैसला गर्नेछन् ।