२६ पुस, काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सूचना, प्रविधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान संशोधन हुने दाबी गरेका छन् ।
प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय समिति बैठकमा ०८७ सालमा मात्रै संविधान संशोधन हुने भनेर दिएको अभिव्यक्तिको बचाउ गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
‘संविधान संशोधन हुन्छ, गर्छ, गर्ने हो । किनभने हाम्रो ७ बुँदे राजनीतिक सहमतिमा पनि यही कुरा थियो,’ शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री गुरुङले भने ।
प्रतिनिधि सभामा दुई दलको बहुमत पुगे पनि राष्ट्रिय सभाबाट अड्किने सम्भावनालाई हेर्दै प्रधानमन्त्रीले त्यस्तो भनेको हुनसक्ने उनको भनाइ थियो ।
‘अहिलेको सिनारियो भनेको प्रतिनिधिसभामा दुई वटा दलको मात्रै बहुमत पुग्छ । तर राष्ट्रिय सभामा समस्या भइरहेको छ,’ गुरुङले भने, ‘त्यहाँबाट पनि पास हुनुपर्ने हुन्छ । राष्ट्रियसभाबाट रोकिने स्थिति बन्यो भने त्यो प्रक्रिया टुंगिदैन भन्ने भन्नुभएको होला भन्ने लाग्छ ।’
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति नेपाली कांग्रेसका नेताहरूले विरोध जनाइरहेका छन् ।
तर, प्रधानमन्त्रीको भनाइको आशय संविधान संशोधन नै नगर्ने भन्ने नभएको प्रवक्ता गुरुङले स्पष्ट पारेका छन् ।
‘उहाँले भन्नुभएको कुरा चाहीँ के हो जस्तो लाग्छ भने, हरेक १०/१० वर्षमा संविधानको सबल र दुर्बल पक्ष के के रहे भनेर हेर्ने भन्ने हो । त्यो चिजलाई हामीले तयारी गर्नुपर्यो । त्यो सबैको आधारमा समीक्षा गर्ने र संशोधन गर्ने भनिएको हो,’ उनले भने, ‘पहिलो त दुई दलको बीचमा सहमति हुन्छ । त्यसपछि हामीले सम्बोधन गर्ने र अनय दलहरूसँग छलफल हुन्छ । विपक्षी दलसँग छलफल हुन्छ । प्रक्रिया यो हो । उक्त प्रक्रियामा जाँदा अहिलेको सिनारियोबारे उहाँले भन्नुभएको हो ।’