काठमाडौँ । नेकपा माओवादी केन्द्रले विचार मिल्ने वामपन्थी शक्तिहरूबिच एकता गर्नका लागि उच्चस्तरीय वार्ता टोली गठन गर्ने निर्णय सकारात्मक कदम भएको एकता पक्षधरहरू नेताहरूले बताएका छन् ।

धुम्बाराहीमा पुस २१ देखि २३ सम्म बसेको माओवादीको केन्द्रीय समिति बैठकले पार्टी एकताका लागि उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको थियो । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले उच्चस्तरीय समिति गठन गर्ने माओवादीको निर्णय सकारात्मक भएको प्रतिक्रिया दिए ।

पार्टी एकताको विषयमा पहिले नै सहमति भइसकेकाले माओवादीबाट पहल भएपछि थप प्रक्रिया अगाडि बढाउने यादवले बताए ।

‘पार्टी एकताका लागि उच्चस्तरीय समिति बनाउने माओवादीको निर्णय सकारात्मक छ । पहिले पनि दुई–तीन चरण छलफल भइसकेको छ । हामी एकताबाट पछि हटेका छैनौँ’, रातोपाटीसँग उनले भने’, ‘उहाँहरूले वार्ता टोली पहिले नै गठन गर्नुभएको थियो । अब उच्चस्तरीय समिति बनाउने भनेपछि सोही अनुसार तयारी गर्छौँ ।’

पार्टीको नामको विषयमा पहिले नै सहमति भइसकेकाले कुनै समस्या नभएको उनले दाबी गरे । कहिले एकता हुन्छ भन्ने प्रश्नमा उनले त्यो माओवादीमा निर्भर रहने उनले स्पष्ट पारे । गत वर्ष चैत ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा दुई पार्टीबिच एकता हुने सहमति भएको थियो ।

यस्तै पार्टी एकतासम्बन्धमा उच्चस्तरीय समिति बनाउने माओवादीको निर्णय सकारात्मक भएको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले बताए । यद्यपि पार्टी एकता कसरी गर्ने ? मोडालिटी कस्तो हुने भन्ने विषयमा स्पष्ट धारणा नआइसकेकाले अहिले नै प्रतिक्रिया दिनु हतार हुने उनको भनाइ छ ।

‘एकता प्रक्रियालाई अगाडि बढाउने सम्बन्धमा उहाँहरूले उच्चस्तरीय समिति गठन गर्ने निर्णय गर्नुभएको छ । तर पार्टी एकता कसरी गर्ने ? मोडालिटी कस्तो हुने भन्ने सम्बन्धमा स्पष्ट धारणा बाहिर आएको छैन । माओवादीको स्पष्ट निर्णय बाहिर आएपछि थप प्रतिक्रिया दिनु उपयुक्त हुनेछ’, उनले भने ।

मंसिरको दोस्रो हप्ता बसेको नेकपाको केन्द्रीय समिति बैठकले माओवादीसँग पार्टी एकता गर्नेबारे अघिल्लो केन्द्रीय समिति बैठकले निर्णय गरेपनि प्रचण्डले बेवास्ता गरेको निष्कर्ष निकालेको थियो ।

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टी एकताबाट आफूहरू नभागेको स्पष्ट पार्दै माओवादीको निर्णय अनुसार अगाडि बढ्ने बताएका थिए । बैशाखमा केन्द्रीय कार्यालय कपिलवस्तुमा बसेको केन्द्रीय समिति बैठकले माओवादीसँग पार्टी एकता गर्ने निर्णय गरेको थियो ।

यता माओवादीका सचिव देवेन्द्र पौडेलले पुरानो वार्ता समितिलाई विघटन गरी नयाँ वार्ता समिति गठन गर्न लागिएको जानकारी दिए । त्यो अध्यक्ष प्रचण्डकै नेतृत्वमा पनि हुन सक्ने वा पदाधिकारी मध्येबाट कुनै नेतृत्वमा पनि हुन सक्ने जानकारी दिए ।

‘केन्द्रीय समितिले गरेको निर्णय पार्टी एकता र वामपन्थी ध्रुवीकरणका लागि नयाँ उच्चस्तरीय समिति गठन गर्ने भनिएको हो । प्रचण्डजीकै नेतृत्वमा गठन गर्ने कि वा अन्य नेताको नेतृत्वमा गर्ने भन्ने विषयमा छलफल भएको छैन । यस विषयमा पदाधिकारी बैठकले टुङ्गो लगाउनेछ’, पौडेलले भने ।

पौडेलले नेकपा, नेसपासहित धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत र प्रभु साह नेतृत्वको आम जनता पार्टी(अजपा)सँग पार्टी एकता हुने बताए । केन्द्रीय समिति बैठकले तत्काल यी चार दलसँग एकता प्रक्रिया अगाडि बढाउने र अन्य वामपन्थी शक्तिबिच मोर्चावन्दी र ध्रुवीकरण गर्ने निर्णय गरेको थियो ।

यसअघि माओवादीले २०७९ पुस २३ गते उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय एकता वार्ता समिति बनाएको थियो । जसमा महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सदस्य रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0