२६ पुस, काठमाडौं । संघीय संसद् सचिवालय कर्मचारी युनियनले संसद्को महासचिव र सचिव संसद् सेवा भित्रैबाट हुनुपर्ने माग गरेको छ ।
संघीय निजामती सेवासम्बन्धी विधेयक संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलमा छ । शुक्रबारको बैठकमा आफ्नो धारणा राख्ने क्रममा संघीय संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष गोविन्द बेल्बासेले संसद््को महासचिव–सचिव पटक्क टिपेर ल्याउने व्यवस्था गलत रहेको बताए ।
‘संसद्को सचिव र संसद्को महासचिव संसद् सेवाभित्रैबाट हुनुपर्छ । यो व्यवस्थाका लागि अनुरोध छ,’ अध्यक्ष बेल्बासेले भने, ‘संसद्को सचिव टपक्क टिपेर ल्याउने व्यवस्था गलत छ । महासचिव भित्रकै हुनुपर्छ ।’
हाल संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभामा एक–एकजना सचिव छन् । दुवै सचिव संसद् सेवाबाहिरबाट पनि नियुक्त हुन सक्ने प्रावधान छ । यही प्रावधानमा टेकेर संसद् सेवाभन्दा बाहिरबाट सचिव नियुक्त गर्ने अभ्यास छ ।
यसलाई बदलेर संसद्को सचिव र महासचिव संसद् सेवाभित्रैबाट हुनुपर्ने माग संघीय संसद् सचिवालय कर्मचारी युनियनले राखेको हो ।