२९ पुस, गुल्मी । शैक्षिक गुणस्तर बढाउन रेसुङ्गा नगरपालिका गुल्मीले सामुदायिक विद्यालयमा पुगेर अभिभावक शिक्षा कार्यक्रम सुरु गरिएको छ ।

रेसुङ्गा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले अभिभावक शिक्षा कार्यक्रममार्फत पहिलो चरणमा नगरपालिकाभित्रका सामुदायिक विद्यालयका अभिभावकहरुलाई प्रशिक्षण दिएको हो ।

पछिल्लो समय विद्यार्थी देखिएको विकृति र विसंगति लगायतमा देखिएका समस्या समाधानका लागि अभिभावकलाई अभिमुखीकर गरिएको नगरपालिकाका लेखाजोखा केन्द्रका संयोजक राममणी पन्थीले जानकारी दिए ।

काठमाडौं बिश्व विद्यालयका स्टिम कार्यक्रमका प्रशिक्षक नवीन मरासिनीले सबै विद्यालयका अभिभावकलाई अभिमुखिकरण दिएका हुन् ।

नगरपालिकाले पहिलो चरणमा १२ सामुदायिक विद्यालयमा ९७५ जना अभिभावकलाई प्रशिक्षण दिएको छ । अभिभावक शिक्षा कार्यक्रममार्फत नगरपालिकाभित्रका विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्नु प्रमुख उद्देश्य रहेको रेसुङ्गा नगरपालिका सामाजिक विकास संयोजक लिलाधर आचार्यले बताए ।

यो कार्यक्रम नगरपालिकाको पहिलो नयाँ कार्यक्रम रहेको बताउँदै आर्चायले अभिभावक शिक्षक हुँदै विद्यार्थी तहमा पुर्‍याउने योजना बनाएको उनले बताए ।

अभिभावक विद्यार्थीको पहिलो पाठशाला भएकाले अभिभावकलाई केही नयाँ ज्ञान दिन र उनीहरुमा देखिएका समस्या समाधानका लागि यो कार्यक्रम प्रभावकारी रहेको कार्यक्रममा सहभागी अभिभावकले बताएका छन् ।

विद्यार्थी र अभिभावकमा हुने खराब आचरण अन्त्य गरेर असल बानी व्यवहारको सुरुवात, जिम्मेवारीपनको विकासमा यस कार्यक्रमले थप टेवा पुग्ने रेसुङ्गा–१० का अभिभावक झबिन्द्र घिमिरे बताए । उनले कार्यक्रम मार्फत आफुले सिकेर बच्चालाई सिकाउन सकिने भएकाले यो कार्यक्रम सिक्ने र व्यवहारमा उतार्न सहज हुने बताए ।

नगरपालिकाले संचालन गरेको अभिभावक शिक्षा कार्यक्रममार्फत केही ज्ञान लिन पाएकोमा अभिभावक उत्साहित भएका छन् । समाजमा बढ्दै गएको अराजक, खराब बानी व्यवहारको अन्त्य गरेर असल व्यक्ति निर्माणमा यस कार्यक्रमले थप हौसला दिएको रेसुङ्गा–१० कै अभिभावक सुमित्रा सुनारले बताइन् ।

रेसुङ्गा नगरपालिकाले विभिन्न समयमा शैक्षिक गुणस्त वृद्धिका लागि थुप्रै कार्यक्रम गर्दै आएको छ । यस आर्थिक बर्षमा स्टिम विधिमा आधारित नगरपालिकाले विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक शिक्षकबीच तीनदिने तालिम संचालन समेत गरिसकेको सूचना अधिकारी तथा शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख पितम्बर पन्थीले बताए । जसबाट जिम्मेवारीको बहन र विद्यार्थी र शिक्षकमा असल बानीको विकास हुने अपेक्षा लिईएको उनको भनाइ छ । विषयगत शिक्षकलाई पनि तालिम प्रदान गर्ने तयारी गरिएको पन्थीले बताए ।

विद्यार्थीलाई हौसला प्रदान गर्दै अभिभावकलाई थप जिम्मेवार बनाउने यस कार्यक्रमले थप टेवा पुग्ने भगवती माध्यमिक विद्यालय सिमीचौरका प्रधानाध्यापक घनश्याम पाण्डेले बताए ।

उनले विद्यार्थीको पहिलो पाठशाला अभिभावक नै भएकाले नगरपालिकाले प्रत्येक शैक्षिक सत्रमा विद्यार्थी र अभिभावकलाई यस्ता कार्यक्रमको आयोजना गरेमा नगरपालिकको शैक्षिक गुणस्तर बढाउन टेवा पुग्ने बताए ।

यस कार्यक्रममा अभिभावक र विद्यालयको उत्साह देखिएको छ । विद्यालयमा विद्यार्थी र शिक्षकको आवश्यकता अनुसार नगरपालिकाले योजना बनाएर कार्यक्रमको संचालन गर्ने नगरले योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0