काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिसम्बन्धी अध्यादेश आज जारी हुने बताएका छन् । बुधवार बिहान बालुवाटारमा उद्योगी व्यवसायीहरूले अध्यादेशका सम्बन्धमा दिएको धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भूमि सम्बन्धी अध्यादेश जारी भएसँगै भूमि सम्बन्धित समस्याहरू समाधान गर्ने उल्लेख गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले देश र जनताको मतलब नहुनेले राम्रा काम हुँदा पनि विरोध मात्रै गरिरहेको बताए। विकास, सुशासनका कामहरू नगर्ने र आफ्नो पिठो बिकाउने काममा मात्रै लाग्ने गरेको उनको टिप्पणी थियो ।

प्रधानमन्त्री ओलीले भने, ‘सबैभन्दा बढी जनता र देशका लागि, विकासका लागि केही गरौँ भन्ने इच्छाशक्ति सरकारमा कम हुनाले नै यस्तो भएको हो । त्यस इच्छा शक्तिले व्यवस्थापन पक्षलाई सही ढङ्गले चुस्त, दुरुस्त बनाउने र देशको अर्थतन्त्रलाई सम्पूर्ण क्षेत्रमा गतिशील कसरी बनाउने ? त्यस दिशामा सरकारले सोच्नुपर्छ । त्यस कुरालाई नै हृदयङ्गम गरेर हामीले अहिले यी केही अध्यादेशहरू आएका छन् ।’

प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गर्नेहरूले केही विकास गरौँ भन्ने इच्छाशक्ति नदेखाउँदा अहिलेको अवस्था आएको बताए । उनले देशको अर्थतन्त्रलाई सम्पूर्ण क्षेत्रमा गतिशील कसरी बनाउने ? भन्ने दिशामा सरकारले सोच्न जरुरी रहेको जिकिर गरे ।

उनले अध्यादेशहरू ल्याएसँगै कांग्रेस र एमालेको सरकार चाँडै ढल्दैछ भन्ने जस्ता भ्रम फैल्याइएकोमा असन्तुष्टि व्यक्त गरे । उनले सरकारले सकारात्मक दूरगामी महत्वका नीति निर्माण गरिरहेको बताए ।

उनले भने, ‘यी अध्यादेशहरू कसरी आए ? एउटा बजार हल्ला छ, काँग्रेस र एमालेका नीति नमिलेर, विचार नमिलेर अब यो छिटै फुट्दैछ,सरकार छिटै ढल्दैछ, गिरिहाल्न आँट्यो यस्ता हल्ला छन् । सरकार आपसमा बसेर यस्ता सकारात्मक दूरगामी महत्वका नीति निर्माण गर्दैछ । प्रभावकारी ढङ्गले कदम चाल्दैछ । यस सन्दर्भमा म नेकपा एमाले, नेपाली काँग्रेसका नेताहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु, आखिर देश बनाऔँ भन्ने भावना त सबैमा छ । केही मान्छे मात्रै हुँदा रहेछन्, जो आफ्ना स्वार्थका लागि देशको कुनै मतलब छैन, जति बेला पनि अन्टसन्ट बोलिरहने । राम्रो काम गरे पनि केही छैन, उस्तै हो । नराम्रो काम गरे पनि उस्तै हो । तिनलाई बोल्नु छ, तिनलाई विरोध गर्नुछ । तिनलाई आफ्नो पिठो बिकाउनु छ, त्यसका लागि हल्ला गर्ने । तर आम मानिसहरूको चाहना विकास, सुशासन हुन्छ । हामीले अहिले गरेका प्रयासहरू सुशासनसँग सम्बन्धित छन् । विकाससँग सम्बन्धित छन् । देशमा सुशासन भयो भने विकासमा ध्यान केन्द्रित गरेर विकासका लागि अनुकूल नीति र व्यवहारिक कदम चालियो भने असम्भव भन्ने कुरा छैन ।’

उनले थपे, ‘आज अर्को भूमि सम्बन्धी अध्यादेश पनि आउँछ । जसले भूमिमा भएका बेठिक खालका कतिपय कुराहरू छन्, ती कुराहरू नसुल्झिएका समस्याहरू छन्, ती सुल्झाउन, कतिपय समस्या छन् । सरकारले पहिला आफैँ जग्गा किन्न दिन्छ, हाउजिङ गर्न दिन्छ, प्रशस्त घर बनाउन दिन्छ, अनि बनाइसकेपछि हद भन्दा बढी जग्गा किनेछु बेच्न त पाइँदैन भन्छ, घर बनाएर लटरम्म अङ्गुर फलेजस्तो घर फलेका छन्, बेच्न पाइँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0