२ माघ, काठमडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहकोे भर्ना समय ११ माघसम्मलाई दिएको छ । भर्नाको समय सकिएपनि कतिपय विद्यार्थी भर्ना नभएको तर कक्षामा आउने गरेकाले भर्नाको समय थप गरिएको हो ।
‘सबै पक्षसँग छलफल गरेर ११ माघसम्मको समय दिइएको हो,’ त्रिविका शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीले भने । समय थप गर्ने विषयमा रेक्टर कार्यालयले डीनहरूसँग छलफल गरेको थियो ।
शैक्षिक क्यालेन्डर प्रभावितच नहुनेगरी भर्नाको समय थप गर्न सुझाव आएपछि समय थप गरिएको शिक्षाध्यक्ष केसीले बताए ।
‘शैक्षिक क्यालेन्डरमा फेरबदल हुँदैन । भर्नाको समय मात्र थप गरिएको हो,’ उनले भने ।
आगामी १५ फागुनमा त्रिविमा स्ववियु चुनाव गर्ने तयारी छ । चुनावको लागि मात्र विद्यार्थी भर्ना हुने आशंकामा त्रिविले भर्ना बन्द गरेको थियो ।
तर विद्यार्थीहरूले निश्चित समय तोकेर मात्र भर्ना बन्द गर्नुपर्ने माग राखेका थिए । त्यसैले त्रिविले स्नातकको भर्नाको समय थप गरेको हो ।