३ माघ, काठमाडौं । सरकारले सार्वजनिक वित्त व्यवस्थापन सुधार राष्ट्रिय रणनीति तयार पारेको छ । अर्थ मन्त्रालयका अनुसार ५ वर्षे यो रणनीतिको मस्यौदा तयार पारिएको हो ।

यस रणनीतिमा आवश्यक राय–सुझाव दिन मन्त्रालयले सर्वसाधारणसँग आह्वान समेत गरेको छ । यो तेस्रो सार्वजनिक वित्त व्यवस्थापन सुधार रणनीति हो ।

खासगरी सार्वजनिक वित्तको दक्षता अभिवृद्धि, स्रोत विनियोजन, वित्तीय अनुशासन कायम राख्ने र सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउन सरकारले यस्तो रणनीति बनाउने गरेको छ ।

मन्त्रालयका अनुसार यस रणनीतिमा वित्तीय नीतिमा सुधार, राजस्व परिचालन, बजेट, व्यय, आन्तरिक नियन्त्रण, ऋण, सम्पत्ति, लेखा र लेखा परीक्षण जस्ता विषय समेटिएका छन् ।

जसमा सूचना प्रविधिको अधिकतम प्रयोग र क्षमता अभिवृद्धिमा जोड दिइएको छ । यसले तीन वटै तहका सार्वजनिक वित्तलाई पारदर्शी बनाउने र सुशासन कायम राख्न मद्दत गर्ने सरकारको अपेक्षा छ ।

अर्थले उक्त रणनीतिको मस्यौदा सार्वजनिक गर्दै सुझाव मागेको हो । ‘एफएफसीडी एट एमओएफ डट जीओभी डट एनपी’ मा यस्तो सुझाव दिन सकिने समेत अर्थले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0