काठमाडौँ । बैंकिङ प्रणालीमा प्रशस्त लगानीयोग्य रकम र सस्ता ब्याजदर हुँदा सेयर बजार उचालिने विगतको अनुभव थियो । तर अहिले यो दुवै अवस्था हुँदासमेत नेप्सेमा लगानीकर्ताको आकर्षण खासै देखिएको छैन ।

अहिले कर्जाको ब्याजदर साढे तीन वर्षअघिको बिन्दुमा पुगेको छ । तर पनि बजारले २७०० को बिन्दु छुन सकेको छैन । तर साढे तीन वर्षअघि औसत ब्याजदर ८.४८ प्रतिशत हुँदा सेयर बजार ३१६० बिन्दुमा थियो । त्यति बेला अर्थात् २०७८ भदौ २ गते नेप्सेले ३१९८ अङ्कको ऐतिहासिक रेकर्ड समेत बनाएको थियो ।

अहिले कर्जाको ब्याजदर त्यतिबेलाकै अवस्थामा जस्तो छ । बैंकहरूसँग साढे ६ खर्ब बराबर रकम निक्षेप छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत संस्थागत लगानीकर्ताका लागि २० करोडको ‘क्याप’ पनि हटेको छ । तर बजार २६०० को बिन्दु वरिपरि रुमलिएको छ । बैंकिङ प्रणालीमा प्रशस्त लगानीयोग्य रकम, एकल अङ्कको ब्याजदर हुँदासमेत त्यसको प्रभाव नेप्सेमा पर्न सकेको छैन । बुधबार भने बजार ५२ अङ्कले बढ्दै परिसूचक २६६५ बिन्दुमा उक्लिएको छ ।

बैंकिङ क्षेत्रमा प्रशस्त लगानीयोग्य रकम भए पनि ऋण दिन डराइरहेको जानकारहरूको भनाइ छ । उपभोक्ता बजारमै देखिएको सङ्कुचनले गर्दा ऋणको साँवा ब्याज उठाउन बैंकहरूलाई समस्या परेको अर्थशास्त्री डा. सुन्दर शर्माले बताए । उनले भने, ‘लगानीयोग्य रकम छ तर बजारबाट समयमै साँवा ब्याज उठेको छैन । यसले गर्दा थप जोखिम लिन बैंकहरूले चाहेका छैनन् । जसले गर्दा सेयर कर्जा पनि अपेक्षित प्रवाह भएको छैन ।’ खराब कर्जा चुलिएका कारण ढुक्क भएर ऋण लगानी गर्न सक्ने अवस्थामा बैंकहरू नरहेको उनको भनाइ छ ।

उनले भनेजस्तै अहिले सेयर धितो कर्जा घटेको छ । गएको मंसिरमा १७ करोड ७४ लाख रुपैयाँ मात्रै सेयर धितो कर्जा प्रवाह भएको छ । चालु वर्षको पहिलो महिना साउनमा १ अर्ब ३५ करोड लगानी भएको छ भने कार्तिकमा १ अर्ब ९४ करोड रुपैयाँ सेयर धितोमा गएको राष्ट्र बैंकको तथ्यांक छ ।

पौडेल र सेयर बजारको ‘ट्युनिङ’ पनि फेल
यसअघि अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सेयर बजारको सम्बन्ध जहिल्यै नजिकजस्तो देखिन्थ्यो । पौडेल जब जब अर्थ मन्त्रालयको कमान्डमा पुग्थे, तब तब सेयर बजारले उकालो यात्रा तय गर्थ्यो । ३१९८ अङ्कको रेकर्ड कायम गर्दा अर्थमन्त्री पौडेल नै थिए । त्यसपछि बजारले ओरालो यात्रा तय गर्दा पौडेल अर्थमन्त्रीबाट बाहिरिइसकेका थिए ।

२०७२ असोजदेखि २०७३ साउनसम्म पौडेल पहिलो पटक अर्थ मन्त्रालयको कमान्डमा थिए । २०७३ साउन १२ मा नेप्से १८८१ अङ्कमा उक्लिएको थियो । त्यो बेलासम्मका लागि त्यो उच्च अङ्कको रेकर्ड थियो ।

२०७७ असोजमा पौडेल फेरि अर्थ मन्त्रालयको जिम्मेवारीमा पुगे । २०७८ भदौ २ गते नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुग्यो । त्यो बेलासम्मको कारोबार सर्वाधिक साढे १९ अर्ब रुपैयाँसम्म भयो ।

२०७९ मङ्सिरको निर्वाचनपछि पुसमा विष्णु पौडेल पुनः अर्थमन्त्री भए । अर्थ मन्त्रालयमा दुई महिना मात्रै बिताएका पौडेलको कार्यकालमा परिसूचक १६४ अङ्कले उक्लिएको थियो । त्यो बेला बजारले २२०० अङ्क नाघ्यो ।

२०८१ असार ३१ गते अर्थमन्त्रीको रूपमा पौडेल फेरि सिंहदरबार प्रवेश गरे । पौडेल अर्थमन्त्री बनेकै दिन नेप्से परिसूचक १७.१८ अङ्कले घटेर २२४०.४१ मा झर्‍यो । तर त्यसअघि नै अर्थ मन्त्रालयमा विष्णु पौडेल आउने हल्लाले बजार बढिसकेको थियो । पौडेल अर्थमन्त्री बन्नु दुई साताअघि समग्रमा बजार २७९ अङ्कले बढेको थियो ।

अर्थमन्त्रीको अहिलेको कार्यभार सम्हाल्दै गर्दा सञ्चार माध्यमलाई प्रतिक्रिया दिँदै पौडेलले सेयर बजारलाई अर्थतन्त्रको ऐनाको रूपमा व्याख्या गरेका थिए । पौडेलले भनेका थिए– ‘पुँजी बजार अर्थतन्त्रको ऐना हो । यसमा अनुकूल परिस्थिति बनाउनेतर्फ मन्त्रालय अग्रसर हुन्छ ।’

पौडेलले सेयर बजारमैत्री अभिव्यक्ति दिएको भोलिपल्ट नेप्से परिसूचक ७० अङ्कले बढेर २३१०.५९ अङ्कमा पुग्यो । जुन बिन्दु त्यसअघिको २६ महिनाकै उच्च थियो ।

तर पौडेलको यो कार्यकालमा त्यसपछि बजारले खासै लय समाउन सकेन । पौडेलको यो कार्यकालमा गएको साउन ३१ गते बजार ३००० बिन्दुमा पुग्यो । बजारले पुरानो रेकर्ड भत्काउन नसके पनि साउनयता ७६० अङ्कले बजार उक्लिएको छ । त्यसपछि भने बजार घट्दो क्रममा रह्यो । आज बुधबार २६६५ अङ्कमा पुगेर बजार बन्द भएको छ । ९ अर्ब २० करोडको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0