काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीहरूलाई अमेरिका लैजान भन्दै ठगी गरेको अभियोगमा अदालतको आदेशले थुनामा रहेका दुई प्रतिवादीहरूको मुद्दा आइतबार सर्वोच्च अदालतमा पेसी तोकिएको थियो । निलम्बित सचिव टेकनारायण पाण्डे र बेचन झाको मुद्दा सर्वोच्चमा पेसी तोकिएको थियो । जिल्ला अदालत काठमाडौँको आदेशले थुनामा रहेका दुवै जनाको मुद्दा अलग अलग न्यायाधीशको इजलासमा पेसी तोकिएको थियो ।
पाण्डेको मुद्दा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा पेसी तोकिएको थियो भने झाको मुद्दा न्यायाधीशद्धय सारंगा सुवेदी र नित्यानन्द पाण्डेको इजलासमा पेसी तोकिएको थियो । सर्वोच्चले पाण्डेको मुद्दालाई हेरेन भने झाको मुद्दामा फाइल मगाउने आदेश गरेको छ। प्रधानन्यायाधीश राउतले यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा पाण्डेकै निवेदनमा सुनुवाइ गरी आदेश गरेकाले आज हेर्न नमिल्ने भएको हो ।
पाण्डे माघ ११ गते सर्वोच्च पुगेका थिए । उनको रिटमा पहिलो सुनुवाइ थियो । तर हेर्न नमिल्ने भएपछि अर्को दिनका लागि तोकिएको हो । सुरुमा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्लाले अधिकांश प्रतिवादीलाई थुनामा पठाउँदा निलम्बित सचिव पनि थुनामै गएका थिए । त्यस विरुद्ध उनी उच्च अदालत पाटन पुगेका थिए । पाटनले पनि जिल्लाकै आदेश सदर गरेपछि पाण्डे सर्वोच्च आएका हुन् । उनी पहिलो अभियोग पत्रका प्रतिवादी हुन् । सरकारले पहिलो अभियोग पत्रमा पूर्वमन्त्रीद्धय बालकृष्ण खाँण, टोपबहादुर रायमाझीसहितलाई प्रतिवादी बनाएको थियो ।
बेचन झा भने पूरक अभियोगपत्रबाट यो प्रकरणमा जोडिएका हुन् । पहिलो अभियोग पत्र दायर हुनुअघि भएको अनुसन्धानमा उनी फरार रहेका थिए । भारतबाट पक्राउ गरी ल्याउँदै सरकारले जिल्ला अदालत काठमाडौँमा पूरक अभियोग पत्र दर्ता गराएको थियो । उक्त अभियोगमा जिल्लाले पुर्पक्षका लागि थुनामा पठाएको थियो । त्यसविरुद्ध झा सुरुमा उच्च अदालत पाटन पुगे । पाटनले पनि जिल्लाकै सदर गरेपछि उनी माघ २ गते सर्वोच्च अदालत पुगेका थिए । झाले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । झाको हकमा माघ ३ गते पहिलो सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी भएको थियो ।
उच्च अदालत पाटनले पुस १ गते उनलाई थुनामा पठाएको थियो । उच्चले थुनामा पठाएपछि झाले पुस २ गते सर्वोच्चमा निवेदन दर्ता गराएका थिए । उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका बेचन झा र प्रतीक थापालाई थुनामै पठाउन आदेश गरेको थियो । उनीहरू एकै पटक जिल्लामा पेस भएकाले उच्चमा पनि सँगै पुगेका थिए उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि झा सर्वोच्च पुगेका हुन् । थापा पनि सर्वोच्च जाने तयारीमा छन् ।
उच्च अदालतका न्यायाधीशहरू अन्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सदर गरेको थियो । दुवै प्रतिवादीलाई २०८१ भदौ २ गते जिल्ला अदालत काठमाडौँले थुनामा पठाउने आदेश गरेको थियो ।
पछि अदालतमा पक्राउ गरेर पेस गरेपछि पुर्पक्षका लागि थुनामा पठाएको थियो । दुवै मुद्दा जिल्ला अदालतमा विचाराधीन रहेको छ। उक्त मुद्दामा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण एमाले नेता टोपबहादुर रायमाझी र निलम्बित सचिव टेकनारायण पाण्डे समेत प्रतिवादी रहेका छन् ।