२७ भदौ, काठमाडौं । भारत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले भारतका नागरिक उड्डयनमन्त्री राममोहन नाइडु किन्जारापुसँग भेटवार्ता गरेका छन् ।

सो क्रममा नेपाल र भारतबीच थप हवाई प्रवेश मार्ग तथा दुई देशका विभिन्न सहरबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

भारतको नयाँ दिल्लीमा बुधबारदेखि सुरु अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को एसिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय दोस्रो सम्मेलनको साइडलाइन भेटघाटमा बिहीबार दुई मन्त्रीबीच छलफल भएको हो ।

भेटमा मन्त्री पाण्डेले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित तीन अन्तर्राष्ट्रिय विमानलाई भारतका विभिन्न सहरसँग जोड्नु पर्नेमा जोड दिए ।

उनले भारतका विभिन्न सहरबाट नेपाली सहरमा थप सिधा उडान तथा अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक संयन्त्र परिचालन गर्न भारतीय पक्षसँग आग्रह गरेको मन्त्रालयले उल्लेख गरेको छ ।

पोखरा नेपालको पर्यटकीय राजधानीका रूपमा विकसित भइरहेको र विगतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ भ्रमण गरेसँगै ठूलो संख्यामा भारतीय धार्मिक पर्यटक मुक्तिनाथ दर्शनमा जाने गरेको उनले बताए ।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विभिन्न सहरबाट सिधा उडान गर्न भारतीय उड्डयन कम्पनीलाई प्रोत्साहित गनुपर्नेमा जोड दिएको मन्त्रालयले जनाएको छ ।

उनले बुधबार भारतको संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्र सिंह शिखावतसँग नयाँ दिल्लीमा भेटेका थिए ।

सो भेटमा समेत पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सहरहरूबाट सिधा हवाई उडान गर्न भारतीय मन्त्रीसँग आग्रह गरिएको छ ।

सो क्रममा भातरीय संस्कृति तथा पर्यटनमन्त्री शिखावतले नेपाल र भारतबीच प्रभावकारी अपासी सम्पर्क स्थापना तथा सहज आवतजावतको माध्यमबाट दुई देशबीचको संस्कृति तथा सभ्यतागत सम्पर्कलाई थप मजबुत बनाउन सकिने कुरामा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0