८ असोज, काठमाडौं । जिम्बाब्वे ले २०० वटा हात्ती मार्ने निर्णय गरेको छ । देशमा आवश्यकताभन्दा धेरै हात्ती भएको भन्दै जिम्बाब्वेले २०० वटा हात्ती मार्ने निर्णय गरेको हो ।

हात्तीको मार्ने काम मानिस र हात्तीबीच हुँदै आएको द्वन्द्व क्षेत्रमा हुने छ । यसमा देशको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज ह्वाङ्गे पनि सामेल छ ।

जिम्बाव्बे सरकारका अनुसार देशमा एक लाख वटा हात्ती छन् । केहीलाई मार्दा चरन क्षेत्र र जलस्रोतमा दबाव कम पर्ने सरकारको विश्वास छ । मिडिया रिपोर्टका अनुसार जिम्बाव्बे सरकारले हात्ती मारेर भोकमरीको चपेटामा परेका नागरिकहरुलाई मासु खुवाउने छ ।

यसअघि जिम्बाव्बेको छिमेकी देश नामिबियाले पनि हात्ती, जेब्रा र गैंडा लगायतका ७०० भन्दा बढी वन्यजन्तु मारेर आफ्ना नागरिकहरुलाई मासु बाँडेको थियो । जिम्बाव्बे, नामिबिया लगायत अफ्रिकी देशहरु भयङ्कर खडेरीबाट प्रभावित छन् ।

हात्तीको संख्याको हिसाबले जिम्बाव्बे अफ्रिकाको दोस्रो ठूलो देश हो । जिम्बाव्बेभन्दा धेरै हात्ती बोत्स्वानामा छन् । बोत्स्वानामा १ लाख ३० हजारभन्दा बढी हात्ती छन् ।

जिम्बाव्बेका पर्यावरण मन्त्री मंगालिसो दलोबुले संसदमा सम्बोधन गर्दै वन्यजीव प्राधिकरणलाई हात्ती मार्न सुरु गर्न निर्देशन दिएका थिए ।

जिम्बाब्वेले हात्ती मार्न लागेको यो पहिलोपटक भने होइन । यसअघि जिम्बाब्वे सरकारले सन् १९६० देखि १९८९ को बीचमा करिब ४५ हजार हात्ती मारिसकेको छ । त्यतिबेला पनि हात्तीको संख्या घटाउने उद्देश्यले मारिएको थियो ।

जिम्बाव्बे हात्ती संरक्षणमा सफल देश मानिन्छ । सन् २०२१ मा जिम्बाव्बेको हात्ती संरक्षण योजनाका अनुसार १९ औं शताब्दीको अन्त्यसम्ममा हात्तीको संख्या निकै कम थियो । दाँतका लागि हात्तीको ठूलो संख्यामा शिकार हुन्थ्यो ।

सन् १८९७ मा करिब एक लाख टन हात्तीका दाँत अफ्रिकाबाट अरु देशमा बिक्री भएको पाइएको थियो ।

अवस्था यति गम्भिर थियो कि सन् १९०० तिर जेम्बिजी नदी क्षेत्र (जिम्बाब्वे, बोत्स्वाना र नामिविया)मा हात्ती लोप हुने आशंका व्यक्त भएको थियो ।

जेम्बिजी अफ्रिकाको सबैभन्दा ठूलो नदी हो । यो नदी क्षेत्र अफ्रिकाको सबैभन्दा महत्वपूर्ण वन क्षेत्रमध्येमा पर्दछ । विश्वचर्चित भिक्टोरिया फल्स यही नदीबाट निस्किने विशाल झरना हो ।

जिम्बाब्वेले सन् १९८० मा देशलाई आवश्यक हात्तीको कुल संख्या तोकेको थियो । त्यतिबेला सरकारले हात्तीको संख्या ४१ हजारसम्म सीमित गर्ने निर्णय गरेको थियो । तर सन् १९९० देखि २००६ को बीचमा हात्तीको संख्या तीव्ररुपमा बढेको थियो ।

हात्ती मार्ने निर्णयमा मिश्रित प्रतिक्रिया

हात्ती मार्ने निर्णय सार्वजनिक भएपछि मिश्रित प्रतिक्रियाहरु आएका छन् । सरकारको निर्णयको आलोचना र समर्थन दुवै सार्वजनिक भइरहेका छन् ।

नेचुरल रिसोर्स गभर्नेन्स नामक एक गैरसरकारी संगठनका निर्देशक फराई मगुबुले समाचार एजेन्सी एएफपीसँग भनेका छन्, ‘खडेरीबाट बच्न सरकारले ज्यादा टिकाउ र वातावरणमैत्री तरिका अपनाउनुपर्छ, जसले पर्यटनलाई असर नपु¥याओस् ।’

जिम्बाब्वे पर्यटकका लागि हात्ती अवलोकनका लागि आकर्षक गन्तव्य मानिन्छ । तर हात्ती मार्ने निर्णय घातक हुनसक्ने आशंका संरक्षणकर्मीहरुको छ ।

नेचुरल रिसोर्स गभर्नेन्सका निर्देशक फराई मगुबुले हात्ती मार्ने जिम्बाब्वे सरकारको निर्णयल अनैतिक भएको बताउँछन् । उनले भनेका छन्, ‘हात्ती जिउँदो हुनु बढी फाइदा हुन्छ ।’

कतिपय पर्यावरणविदले भने हात्ती मार्ने सरकारको निर्णयको समर्थन गरेका छन् । नामिबियन चेम्बर अफ इन्भायरोमेन्टको सीईओ क्रिस ब्राउनले भनेका छन्, ‘यदि हात्तीलाई अनियन्त्रित रुपमा बढ्न दिइयो भने अन्य प्रजातिका जीवजन्तु मासिन्छन् र पारिस्थितिक प्रणालीमा गम्भिर असर पर्छ ।’

संयुक्त राष्ट्रसंघका अनुसार जिम्बाब्वेमा करिब ४२ प्रतिशत नागरिक गरिबीको रेखामुनि छन् । लामो समयदेखिको खडेरीले पानी र खानाको गम्भिर संकट पैदा भएको छ । बालीनाली र घाँसेमैदान नष्ट हुँदै गएका छन् ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0