काठमाडौँ । बढ्दो उमेरसँगै हामीले विभिन्न प्रकारका स्वास्थ्य समस्याको सामना गर्नुपर्छ । अधिकांशले सामना गर्ने समस्या हड्डी सम्बन्धी हो । ओस्टियोपोरोसिस एक खालको हाड रोग हो जसमा उमेर ढल्किँदै गर्दा हड्डी कमजोर हुन थाल्छ र दुखाइको समस्या देखिन थाल्छ ।

हरेक वर्ष अक्टोबर २० मा विश्व ओस्टियोपोरोसिस दिवस मनाइन्छ । यस वर्ष ‘से नो टु फ्राजाइल बोन्स’ नारासहित विश्व अस्टियोपोरोसिस दिवस मनाउन थालिएको छ ।

के हो ओस्टियोपोरोसिस ?

अस्टियोपोरोसिस हड्डीमा लाग्ने एक खालको रोग हो, जुन हड्डीको खनिज घनत्व र बोनमासको कमीले हुन्छ । यसले हड्डीको बलमा कमी ल्याउन सक्छ, जसले भाँच्ने खतरा बढाउँछ । यो रोग प्रायः उमेर बढ्दै गएपछि देखिन थाल्छ ।

किन बढी हुन्छ महिलामा अस्टियोपोरोसिसको समस्या ?

जीन, उमेर र लिङ्गले पनि ओस्टियोपोरोसिसको सम्भावना बढाउँछ । तर जीवनशैलीमा केही परिवर्तन गरेर यो सम्भावनालाई कम भने गर्न सकिन्छ । महिलाको हड्डी पुरुषको तुलनामा सानो र पातलो हुने भएकाले पुरुषको तुलनामा महिलालाई अस्टियोपोरोसिस हुने सम्भावना बढी हुन्छ । रजोनिवृत्तिपछि महिलाहरु यो समस्या सामना गर्छन् । रजोनिवृत्ति भन्दा अघि महिलाहरुको हड्डी जोगाउने एस्ट्रोजेन पूर्ण मात्रा हुन्छ । तर रजोनिवृत्तिपछि यो घट्न थाल्छ । धेरै हिँडडुल नगर्ने जीवनशैली, अत्यधिक मदिरा सेवन र धूम्रपानले गर्दा समय अगावै केहीमा यो समस्या देखिन थाल्छ ।

यी भिटामिनको कमीले निम्त्याउँछ यो समस्या

शरीरमा क्याल्सियम र भिटामिन डीको कमीले गर्दा यो रोग लाग्ने गर्छ, यसका लागि आफ्नो आहारमा क्याल्सियम र भिटामिन डीयुक्त खानेकुराहरू जस्तै दूध र दुधजन्य सामाग्री समावेश गर्नुस् । हरेक दिन अण्डा, माछा र हरियो पातादार तरकारीहरू समावेश गर्न आवश्यक छ । यसको साथै दैनिक १००० देखि १२०० मिलिग्राम क्याल्सियम र ६०० देखि ८०० आईयू भिटामिन डीको पनि सेवन गर्नुहोस् ।

ओस्टियोपोरोसिसको समस्या हटाउन के गर्ने ?

यो समस्या हटाउन डाक्टरहरू भिटामिन डी लिनुका साथै पौष्टिक तत्वले भरिपूर्ण खाना खाने सल्लाह दिन्छन् । यसका लागि तपाईंले आफ्नो जीवनशैलीमा पनि परिवर्तन गर्नुपर्छ ।रुमेटोइड आर्थराइटिस, हाइपर थाइराइडिज्म र केही ग्यास्ट्रोइन्टेस्टाइनल डिसअर्डरजस्ता रोगले पनि हड्डीको स्वास्थ्यमा असर पार्छ । अस्टियोपोरोसिसको समस्यालाई समयमै निको पार्न सकिन्छ । यो रोग स्क्रीनिङ र जीवनशैली परिवर्तन गरेर निको पार्न सकिन्छ । यसबाट सङ्घर्ष गरिरहेकाहरूले नियमित रुपमा आफ्नो स्वास्थ्य परीक्षण गराउनु पर्छ ।

@एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0