गृहमन्त्री रमेश लेखकले संविधान र कानुनबमोजिम नागरिकता प्राप्तिमा सहजता बनाइने बताएका छन्।

शुक्रबार गृह मन्त्रालयमा नागरिकता समस्या समाधान अध्ययन समितिको प्रतिवेदन बुझ्दै उनले यस्तो बताएका हुन् ।

‘जसले संविधान र कानुनबमोजिम नागरिकता प्राप्त गर्नुपर्ने हो । उसले नागरिकता पाउनै पर्छ । तर, नागरिकता प्राप्त गर्न नहुने मान्छेले नागरिकता पाउने अवस्था बन्नुहुँदैन । यी दुई वटा कुरामा स्पष्ट छौं,’ उनले भने।

नागरिकता निकै संवेदनशील विषय भएको भन्दै यसलाई गम्भीर र जिम्मेवारीपूर्वक हेर्नुपर्ने गृहमन्त्री लेखकको भनाइ छ । ‘प्रक्रियागत झमेलाका कारणले नागरिकता नपाएको स्थिति हुनु हुँदैन र सम्मानित सर्वोच्च अदालतबाट पटक पटक फैसला भएका छन्,’ उनले भने।

समितिले झन्डै ३ महिनामा सबै कुराको अध्ययन गरेर अदालतका फैसला, मौजुदा कानुनी व्यवस्था, विभिन्न जिल्ला प्रशासनमा देखिएका जटिलतालाई अध्ययन गरेको छ ।

गृहमन्त्री लेखकले प्रतिवेदनको गम्भीरतापूर्वक अध्ययन गरेर कार्यान्वयनमा लैजाने बताए । ‘हामी प्रतिवेदनको गम्भीरतापूर्वक अध्ययन गर्छौँ । कहाँ के समस्या औल्याउनु भएको छ ? समधानका उपया के देखाउनु भएको छ । यसको के निष्कर्ष उहाँहरूले दिनुभएको छ ? यो कुरालाई अध्ययन गरेर थप आवश्यक काम हामी गर्छौँ,’ उनले भने।

प्रतिवेदनमा नेपाली आमाबाट जन्मिएका सन्तानलाई नागरिकता पाउन सहज हुनेलगायतका विषय समेटिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0