६ कात्तिक, काठमाडौं । हङकङ क्रिकेट संघको आयोजनामा आगामी नोभेम्बर १ देखि ३ सम्म हङकङ, चाइनमा आयोजना हुने हङकङ क्रिकेट सिक्सेस २०२४ का लागि नेपाली टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सन्दीप जोराको कप्तानीमा ७ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा जोरासँगै राष्ट्रिय टिमबाट खेलिसकेका लोकेश बम, विवेक यादव, प्रतिश जिसी र राशिद खान छन् । यस्तै नारायण जोशी र दीपेन्द्र रावत पनि टिममा छन् ।

जोरा ब्याटर हुन् भने लोकेश बम विकेट किपर ब्याटर हुन् । विवेक, प्रतिश, रासिद र नारायण अलराउण्डर हुन् । दीपेन्द्र स्पीनर हुन् ।

यस्तै नेपाली टोलीको प्रशिक्षकमा राष्ट्रिय टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल रहने क्यानले जनाएको छ । हङकङ क्रिकेट सिक्सेसमा नेपाल अष्ट्रेलिया र इंग्ल्याण्डसँगै समूह बी मा छ । नेपालले पहिलो खेल नोभेम्बर १ मा इंगल्याण्ड तथा दोस्रो खेल नोभेम्बर २ मा अष्ट्रेलियासँग खेल्नेछ ।

प्रतियोगिता ८ टेष्ट टोलीका टिमसहित कूल १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागि टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ३-३ टोली छन् ।
यस प्रतियोगिताको हरेक खेल ६-६ ओभरको हुनेछ भने एक टिममा ६ खेलाडी खेल्न पाउनेछन् ।

एक इनिङमा चार खेलाडीले बढीमा १ ओभर बलिङ गर्न पाउनेछन् भने एक खेलाडीले २ ओभर बलिङ गर्न पाउँछन्।

सन् १९९३ देखि सुरु भएको हङकङ सिक्सेस प्रतियोगिता पछिल्लो पटक सन् २०१७ मा आयोजना भएको थियो । जसमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई हराउँदै पाँचौ पटक उपाधि जितेको थियो ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0