७ कात्तिक, काठमाडौं । काठमाडौंमा बलात्कार आरोपमा एक बसका चालक पक्राउ परेका छन् ।

बा ५ ख ७१३३ नम्बरको महानगर यातायातका चालक संखुवासभा खाँदबारी नगरपालिका–४ घर भएका २३ वर्षीय दिपेश कोइराला पक्राउ परेका हुन् । बलात्कार आरोप लागेका रौतटहको चन्द्रनगर नगरपालिका–२ घर भएका २७ वर्षीय सहचालक आकाश भनिने बुद्धिमान तामाङ भने फरार छन् ।

घटना एक महिनाअघि ९ असोजको हो । ग्वार्कोबाट कलंकी जान एक महिला बस चढेकी थिइन् । तर उनलाई कलंकीमा झर्न नदिई नयाँ बसपार्क पुर्‍याइएको थियो । त्यतिबेला साँझको करिब ६ बजेको थियो ।

‘नयाँ बसपार्कमा आइसकेपछि सबै यात्रु झरेर जाँदा मलाई भने चालक सहचालकले झर्न नदिई ढोका लगाएका थिए’, पीडित युवतीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

नयाँ बसपार्कमा उनीहरुले जुस खान दिएको र त्यसपछि झुम्म भएर आफूले केही थाहा नपाएको पीडित युवतीको भनाइ छ । राति ११ बजेतिर ब्यूँझदा बसपार्कको गुरुमा होटलको कोठा नम्बर १०९ मा आफूमाथि बलात्कार भएको थाहा पाएको उनले बताएकी छन् ।

राति ११ बजेतिर आफू ब्यूझँदा चालक नग्न अवस्थामा आफूसँगै बेडमा र सहचालक भुईमा सुतेको देखेको उनले बताएकी छिन् ।

त्यसपछि हारगुहार गरेर फोन गर्न लाग्दा मोबाइल समेत उनीहरु फुटाइएको र बाहिर निस्कन नदिई रातभर कोठामा थुनेको पीडितको भनाइ छ । भोलिपल्ट श्रीमानको फोन आएको र घटनाबारे जानकारी गराएपछि प्रहरीलाई खबर गरेको उनले बताएकी छिन् ।

त्यसपछि प्रहरी वृत्त महाराजगञ्जले चालक कोइरालालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । सहचालक भने अहिलेसम्म फरार छन् ।

सहचालकको खोजी भइरहे पनि पक्राउ गर्न नसकिएको महाराजगञ्जका इन्सपेक्टर सुदर्शन पन्थीले बताए । अनुसन्धान टुंग्याएर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइसकिएको इन्सपेक्टर पन्थीले बताए ।

प्रहरीको प्रतिवेदनपछि सरकारी वकिल कार्यालयले बुधबार चालक र सहचालक दुबै जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा बलात्कारको कसुरमा मुद्दा दायर गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासमा उक्त मुद्दाको सुनुवाइ सुरु भएको छ ।

थुनछेक बहसपछि साधारण तारेखमा तथा धरौटीमा छाड्ने वा पुर्पक्षका लागि कारागार पठाउने भन्ने आदेश आउने छ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0