१६ पुस, काठमाडौं । बाराको सिमरा विमानस्थलका सुरक्षा गार्ड राजकुमार रुम्बाको हत्या आरोपमा अहिले तीन जना बारा प्रहरीको हिरासतमा छन् ।

बाराकै जितपुर सिमरा उपमहानगरपालिका–१९ घर भई जयमाँ इन्जिनियरिङ वर्कसप सञ्चालन गर्ने २७ वर्षीय पुरुषोत्तमकुमार दास, सोही ठाउँका २० वर्षीय इन्द्रजितकुमार चौहान र राष्ट्रिय अनुसन्धान कार्यालय बारामा दरबन्दी भई सिमरा विमानस्थल कार्यालयमा कार्यरत अनुसन्धान अधिकृत (इन्सपेक्टर) श्रीकान्त तिवारीलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

६ पुसको बिहान ९:१५ बजे बाराको बकुलियादेखि रमौली लोसन्डा जाने सडक छेउमा रोकिराखेको बागमती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको ईभी गाडीभित्र रुम्बा मृत अवस्थामा फेला परेका थिए ।

मृत रुम्बाको पोस्टमार्टमको क्रममा गोली हानी हत्या गरेको खुलेको थियो । पोस्टमार्टम रिपोर्टमा ‘गनसट इन्ज्युरी टु द हेड’ उल्लेख थियो ।

रुम्बाको हत्या भएको पुष्टि भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो । अनुसन्धानको क्रममा रुम्बाको हत्याका मुख्य व्यक्ति वर्कसप सञ्चालक दास रहेको खुलेको बाराका एसपी महेन्द्र खड्काले बताए । ‘हत्याका योजनकार दास देखिन्छन् । उनकै योजनामा चौहानले साथ दिएको देखिन्छ,’ एसपी खड्काले अनलाइनखबरसँग भने ।

यो पनि पढ्नुहोस
बारामा कारभित्र मृत भेटिएका व्यक्ति सिमरा विमानस्थलका सुरक्षा गार्ड
उनका अनुसार दास र रुम्बाबीच पहिलेदेखि नै चिनजानका व्यक्ति हुन् । उनीहरूबीच लेनदेन तथा सरसापट समते चल्ने गर्थ्यो । तीन महिनाअघि लेनदेनकै क्रममा उनीहरूबीच विवाद भएको खुलेको छ ।

विवादले उग्ररूप लिएपछि एकले अर्कालाई मार्नेसम्मको धम्की दिएका थिए । त्यसपछि नै योजनाबद्ध रूपमा दासले काम गरेर हत्या गरेको पाइएको एसपी खड्काले बताए । ‘तीन महिनादेखिको योजना देखिन्छ । त्यसका लागि एक महिनाअघि मात्रै हतियार किनेकोसम्म खुलेको छ,’ एसपी खड्का भन्छन् ।

रुम्बाकै हत्याका लागि भनेर दासले एक महिनाअघि भारतबाट पेस्तोल किनेर ल्याएको प्रहरी समक्ष बताएका छन् । हत्यापछि भाग्ने क्रममा पेस्तोक खसेको उनले बताएका छन् । प्रहरीले पेस्तोल भने अहिलेसम्म फेला पार्न सकेको छैन ।

दासको खल्तीबाट मृतक रुम्बाको सुनको सिक्री समेत प्रहरीले बरामद गरेको थियो ।

कसरी जोडिए इन्सपेक्टर ?

हत्यामा प्रत्यक्ष नजोडिएका इन्सपेक्टरलाई पनि पक्राउ परेर प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीविरुद्ध पनि मृतकका आफन्तले किटानी जाहेरी दिएकाले अनुसन्धानका लागि नियन्त्रणमा लिइएको एसपी खड्काले बताए ।

उनको संलग्नता भने गाडीमात्रै देखिएको छ । दास र इन्सपेक्टर तिवारी पनि पूर्वचिनजानकै व्यक्तिहरु हुन् । तिवारीले आफ्नो ईभी गाडी रातो प्लेट भए पनि कहिलेकाहीँ भाडामा पनि प्रयोगमा दिने गरेका थिए । हत्याको दिन पनि दासले कलैया जान भनेर तिवारीको गाडी मागेकाले उनले दिएको खुलेको छ ।

यो पनि पढ्नुहोस
मधेशमा बढ्यो व्यक्ति हत्या शृङ्खला, ६ महिनामा ३६ को हत्या
सोही कारमा सँगै गएका उनीहरूले रुम्बाको हत्या गरेका थिए । तिवारीलाई नियन्त्रणमा लिनुको अर्को कारणबारे प्रहरीले हत्यामा उनको गाडीको प्रयोग भएको पनि उल्लेख गरेको छ ।

यसबाहेक अन्य घटनामा अहिलेसम्म तिवारीको भूमिका नदेखिएको एसपी खड्काले बताए । पक्राउ परेका दुई जनाले हत्या स्वीकार गरेका छन् भने तिवारीले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0