७ कात्तिक, काठमाडौं । दक्षिण कोरिया जाने कामदारले खुला बजारबाट हवाइटिकट खरिद गर्न पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा रिट दायर भएको छ ।

रोजगार अनुमति प्रणाली अन्तर्गत कोरिया जाने कामदारले युनिभर्सल टुर्स एण्ड ट्राभल्स प्रालिबाट टिकट लिनुपर्दछ । इपीएस शाखाले उक्त ट्राभल्ससँग सम्झौता गरेकाले कामदारले अन्यत्रबाट टिकट खरिद गर्न नपाउने वाध्यात्मक व्यवस्था छ ।

कामका लागि कोरिया जाँदा पहिलोपटक कोरियन एयरलाइन्सको टिकट अनिवार्य खरिद गर्नुपर्दछ ।

स्वेच्छिक तवरले हवाई टिकट खरिद गर्न पाउने अधिकारबाट युवाहरुलाई वञ्चित गरिएको रिट निवेदनमा उल्लेख गरिएको छ । खुला बजारबाट टिकट खरिद गरी कोरिया जान रोक लगाउने गरी कुनै निर्णय, आदेश, पत्राचार, सम्झौता आदि भएका छन् भने ती निर्णयहरु समेत उत्प्रेषणको आदेशले बदर गर्न रिटमा माग गरिएको छ ।

इपीएस र युनिभर्सल ट्राभल्सबीच भएको सम्झौताले हवाई टिकटमा एकाधिकार भएकाले उक्त सम्झौता कार्यान्वयन नगराउन माग गर्दै रिट दायर भएको छ । रिट उपर बिहीबार पेशी तोकिएको निवेदकमध्येका एक यज्ञमणि न्यौपानेले जानकारी गराए ।

अधिवक्ताहरु खगेन्द्र चापागाईं, छिरिङ शेर्पा, यज्ञमणि न्यौपाने, दिपक अधिकारी र कानुनका विद्यार्थी ओमनाथ ठाकुरले रिट दर्ता गरेका हुन् ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0