७ कात्तिक, काठमाडौं । हिन्दू धर्मावलम्बी यतिबेला दीपावली तथा छठपर्वको तयारीमा छन् । यी दुवै पर्वमा माटाका भाँडाकुँडाको माग अत्याधिक हुने गर्छ ।

यो माग पूर्ति गर्नकै लागि जनकपुरका कुम्हाल समुदाय यतिबेला माटोका भाँडाकुँडा बनाउन व्यस्त छन् । तर पछिल्लो समय यो पेशाबाट मनग्य आम्दानी नहुँदा युवा पुस्ता पेशाबाट पलायन हुँदै गइरहेका छन् ।

७० वर्षका उपेन्द्र पण्डित माटाका सामानहरु बनाउन यतिबेला व्यस्त छन् । अनुभव र सीपले युवा भन्दा पनि छिटो माटाका भाँडा बनाउँछन् ।

उनलाई अहिले आउँदै गरेको लक्ष्मीपूजा र छठका लागि माटोको दियो, हाथी, ढकना, सर्वा लगायतका सामग्रीहरु बनाउने चटारो छ ।

उनी बिहानैदेखि माटाका सामानहरु बनाउन व्यस्त हुन्छन् । जनकपुरधाम वडा नम्बर २४ बसहियाका स्थानीय पण्डितले माटोबाट निर्माण हुने विभिन्न कलात्मक सामग्रीहरु बनाउन थालेको लगभग ४० वर्ष भइसकेको छ ।

माटोको सामग्री कुनै विशेष पर्व वा सिजनमा मात्रै बिक्री हुने गर्छ । यही पेशाको भरमा मात्र घर चलाउन कठिन हुन्छ । त्यसैले जीविका चलाउन अन्य पेशा पनि गर्ने गरेको कुम्हाल समुदाय बताउँछन् ।

उपेन्द्र जस्तै दिनचर्या परीक्षण पण्डितको पनि छ । उनले माटाको भाँडाकुडाको व्यवसाय गरेको लगभग ३० वर्ष भइसकेको छ । माटाको भाँडाकुँडाको व्यापार पहिले भन्दा बढेको उनको भनाइ छ ।

महँगी बढिरहेको छ । तर आजभन्दा ५ वर्ष पहिले ५० रुपैयाँमा पाउने कलशको मूल्य अहिले पनि त्यस्तै छ । माटोको दियो २ रुपैयाँमै बेच्न परिरहेको कुम्हाल समुदायको गुनासो छ ।

माटोदेखि दाउरासम्म किनेर माटाका भाँडाकुँडा बनाउँदा धेरै नाफा नहुने हुनाले युवाहरु यो पेशामा आउन नचाहने उनीहरुको भनाइ छ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0