९ कात्तिक, हेटौंडा। मकवानपुरको उत्तरी क्षेत्रस्थित इन्द्रसरोबर गाउँपालिकामा ६ जना खेलाडीको पहिरोले पुरिएर मृत्यु भएको घटनामा दोषी पत्ता लगाएर कारबाही गर्दै परिवारले प्रधानमन्त्री केपी शर्मा ओली भेटेका छन् ।

मृतक ६ जना खेलाडीका परिवारले शुक्रबार प्रधानमन्त्री ओलीलाई भेटेर घटनाको सत्थतथ्य पत्ता लगाई दोषीलाई कारबाही दायरामा ल्याउन उच्च स्तरीय छानबिन आयोग गठन गर्न माग गरे । उनीहरुले सरकारसँग क्षतिपूर्तिलगायत मृतकको नाममा रंगशाला र अक्षयकोष स्थापनासम्मका ६ बुँदामा माग राखेका हुन् ।

मृतक परिवारले नेपाल विद्युत प्राधिकरण, एकेडेमी सञ्चालक अखिल नेपाल फुटबल संघ (एन्फा) र एकेडेमीको व्यवस्थापकीय जिम्मेवारी लिएको बत्सलादेवी माविको समितिका कारण घटना हुन पुगेको जिकिर गरेको छ ।

पहिरोमा पुरिएर सर्लाहीका १३ वर्षीय आदित्य बलमपाकी, काठमाडौं कलंकीका ११ वर्षीय प्रियान्स आचार्य, मकवानपुर हेटौंडाका १४ वर्षीय अनुपम घलान, मकवानपुरगढी घरभएका १४ वर्षीय साईमन योञ्जन, बारा निजगढका १४ वर्षीय विकल रेग्मी र मकवानपुर सिस्नेरीका १४ वर्षीय दिवस बानियाँको मृत्यु भएको थियो ।

गत १२ असोजमा इन्द्रसरोबर–३, सिस्नेरीस्थित बत्सलादेवी माविको एन्फा एकेडेमीमा रहेका ४० जना खेलाडीमध्ये ६ जनाको बिहान ६ बजे पहिरोले पुरिएर मृत्यु भएको थियो । कुलेखानी जलविद्युत केन्द्रबाट साढे ५ बजे दुई वटा ढोका खोलेर पानी छोडेपछि कुलेखानी खोलामा बाढी आएकाले खोला छेउको एकेडेमी भवनबाट टेकर भन्ने गाउँतर्फ जान लाग्दा पहिरोमा पुरिएका थिए ।

मृतक हेटौंडाका अनुपम घलानका बाबुसमेत रहेका जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले दोषीमाथि कारबाही माग गर्दै सरकारको ध्यानाकर्षण गराइएको अनलाइनखबरसँग बताए । ६ जना बाल फुटबल खेलाडीहरुको एकै थलोमा असामयिक देहावसान भएको विषय नेपालको खेलकुद इतिहासमा दुःखद घट्ना भएको बताउँदै घलानले दोषी उम्किन नदिन सरकारको अनुरोध गरे ।

दुःखद् र भयानक घटना लापरबाहीका कारण सिर्जना भएको परिवारको ठहर छ । ‘यस्ता दुःखद् र भयानक घट्ना पुनः दोहोरिन हुँदैन । यस्ता चरम लापरबाहीतर्फ आँखा चिम्लने हो भने पुनः यस्ता पीडादायी घट्ना परिघट्नाहरु नदोहोरिएला भन्न सकिँदैन ।’ मृतकका परिवारले प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ ।

प्राधिकरण, एकेडेमी तथा व्यवस्थापन पक्षले पूर्व होशियारी अपनाएको भए यस्तो दुःखद् घट्ना नहुने परिवारहरुको भनाई छ । ‘दिवंगत साना उमेरका खेलाडीहरुको सुरक्षा र रेखदेख हुन नसक्नुका कारणतर्फ व्यापक चासो हुनु स्वाभाविक हो ।

यसर्थः बाल खेलाडीहरुको उद्दार गर्न र पूर्व होशियारी अपनाउन के कुन कारणले बाधा परेको हो ? भन्ने विषयमा निष्पक्ष र उच्च स्तरीय छानबिन आयोग गठन भइ दोषीउपर कारबाही हुनुपर्छ ।’ घलानले भने ।

मृतकका परिवारले मृतक खेलाडीहरुको स्मृतिमा खेल आयोजना गर्न अक्षयकोष स्थापना गरी अक्षयकोषमा पर्याप्त रकमको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । एन्फा कम्प्लेक्स भवनको कम्पाउण्डभित्र मृतक खेलाडीहरुका प्रतिमा निर्माण, मृतक खेलाडीहरुको नाममा एन्फाको स्वामित्वमा सुविधायुक्त फुटबल एकेडेमी बनाउन परिवारले माग राखेको छ ।

एन्फाबाट संचालित कार्यक्रम उपयुक्त पूर्वाधारहरु भएको भौगोलिक स्थान, स्वास्थोपचार, सडकलगायतका सहज पहुँच हुनेगरी संचालन गर्न, मृतक बाल खेलाडीहरुको स्मृतिमा प्रत्येक वर्ष राज्यको तर्फबाट राष्ट्रव्यापी फुटबल खेल सञ्चालन गर्न, मृत्यु हुनेहरुको लागि उचित क्षतिपूर्तिको व्यवस्था गर्दै घाइतेको उपचार र घरबारविहीन भएका परिवारहरुलाई यथाशीघ्र पुर्नस्थापनाको व्यवस्था गर्न परिवारले माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0