११ पुस, काठमाडौं। लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी नक्कली डाक्टरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका–२ हरिटोल घर भइ ललितपुरको ग्वार्को बस्ने ३० वर्षीय जितेन्द्र मण्डल छन् ।

आफूलाई डाक्टर आलोक बताउने मण्डल नुवाकोट बस्दै आएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुरस्थित पीसीसीको टोलीले उनलाई नुवाकोटको पन्चकन्या गाउँपालिका–४ आरुखर्कबाट बिहीबार पक्राउ गरेर ललितपुुर ल्याएको हो ।

उनले आफूलाई डाक्टर बताउने र घरमै उपचारको सेवा दिने भन्दै लुटपाट गरेको आरोप छ । ललितपुर महानगरपालिका–१७ भेल्पास्थित ज्ञानराज श्रेष्ठको घरमा डेरा गरी बस्ने ५२ वर्षीय ओलप्रसाद तिमल्सिनालाई यही शैलीमा उनले लुटपाट गरेको आरोप छ।

फेसबुकमा साथी बनाएर कुरा गर्दै सुगरको बिरामी भए म उपचार गरिदिउँला भन्दै उनी तिमल्सिनाको कोठामा पुगेको प्रहरीले जनाएको छ ।

त्यसपछि सुगरको औषधी भन्दै बेहोस हुने औषधी खान दिएर लुटपाट गरेको दाबी गर्दै पीडितले प्रहरीमा निवेदन दिएका थिए । तिमल्सिनाको कोठाबाट उनले सुनका विभिन्न गरगहना र नगद ३ लाख रुपैयाँ लुटपाट गरेको आरोप छ।

पक्राउ परेका उनीमाथि प्रहरी प्रहरी वृत्त सातदोबाटोबाट अनुसन्धान सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0